बिएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय
अखबार टुडे
प्रकाशित:
२०८१, ५ असार

काठमाडौं । झापाको विर्तामोडमा रहेको बिएन्डसी अस्पतालले मेडिकल कलेजको सम्बन्धन पाउने भएको छ । मंगलबार बालुवाटारमा बसेको चिकित्सा शिक्षा आयोगको १४औं बैठकले बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको हो ।

व्यवसायी दुर्गा प्रसाइँद्वारा सञ्चालित बीएन्डसी अस्पताललाई सम्बन्धन दिन अदालतले परमादेश दिइसकेकाले सोहीअनुसार सरकारले निर्णय गरेको हो । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मानित अदालतबाटै परमादेश आइसकेकाले उक्त निर्णयको सम्मान गर्दै अगाडि बढ्नुपर्ने बताए ।

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीहरूलाई आपसी समन्वय र सहकार्यमा समाधान गर्नुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा चिकित्सा शिक्षामा पहुँच कायम गर्नका लागि तीनै तहका सरकार, चिकित्सा शिक्षा प्रदान गर्ने शैक्षिक संस्था र स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाहरूबीच सहकार्य आवश्यक रहेको बताए ।

उनले भने, ‘मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो । स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, विकास, विस्तार तथा नियमनमा आयोगबाट प्रभावकारी भूमिका निर्वाह हुनुपर्ने आवश्यकता छ । यस कार्यमा अरु सबै सरोकार भएकाहरुले पनि सहयोग तथा सहकार्यमा गर्नुपर्छ ।’

प्रधानमन्त्रीले आयोगबाट सम्पादित कार्यलाई चिकित्सा शिक्षा र सेवा प्रवाह सुधारको सकारात्मक एवं अभिन्न पाटोका रूपमा लिएको समेत बताए ।

प्रतिक्रिया