टी-२० विश्वकप : इतिहास रच्ने नेपालको सपना समाप्त
अखबार टुडे
प्रकाशित:
२०८१, २ असार

काठमाडौं । आईसीसी टी–२० विश्वकप–२०२४ मा नेपाल समूह चरणबाटै उपाधि दौडबाट बाहिरिएको छ । अमेरिका र वेष्टइण्डिजमा जारी टी–२० विश्वकपमा शनिबार दक्षिण अफ्रिकासँग १ रनले पराजित भएसँगै नेपाल सुपर–८ यात्राबाट बाहिरिएको हो । यससँगै टि–२० विश्वकप जितेर इतिहास रच्ने नेपालको सपना पनि समाप्त भएको छ ।

‘डी’ समूहमा रहेको नेपालले ३ खेलमा २ मा हार र १ मा नतिजाविहीन हुँदै १ अंकका साथ चौथो स्थानमा छ । अन्तिम खेल नेपालले आइतबार बंगलादेशसँग खेल्नेछ । तर, उक्त खेल जितेपनि सुपर–८ मा पुग्ने छैन ।

दक्षिण अफ्रिका ४ खेलमा ८ अंकका साथ सुपर–८ मा पुगेको छ । बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंकका साथ दोस्रो स्थानमा छ । त्यसैको कारण नेपालको यात्रा समूह चरणबाटै समाप्त हुने भएको हो ।

दक्षिण अफ्रिकाविरुद्ध विजयी भएको खण्डमा ४ अंकका साथ नेपाल सुपर ८ खेल्ने सम्भावना रहन्थ्यो । जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपाललाई अन्तिम २ बलमा जित्न २ रन चाहिएको थियो ।

तीव्र गतिका बलर आटनिल बार्टमानले दुवै बल गुलशन झालाई डट राख्दै नेपाललाई १ रनको हारले स्तब्ध पारे । अन्तिम बलमा गुलशनले बल छुन नसकेपनि नन स्ट्राइकमा दौडिनेक्रममा ब्याट राख्न थोरै ढिलो भएपछि रन आउट हुन पुगेका थिए ।

समूह ‘ए’बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थान छभने अमेरिका ५ अंकका साथ दोस्रो स्थानमा छ । समूह ‘बी’बाट अष्ट्रेलिया ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगेको छ भने ‘बी’ समूहबाट स्कटल्यान्ड र इंग्ल्यान्डमध्य एक टोली सुपर ८ मा पुग्नेछन् ।

यस्तै, समूह ‘सी’बाट वेष्टइण्डिज र अफगानिस्तान सुरुवाती तीन खेलमा जितका साथ सुपर ८ मा पुगेका छन् भने ‘डी’ समूहबाट अब बंगलादेश र नेदरल्यान्ड्समध्ये एक पुग्नेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया