जी७ का नेताहरूमाथि पुटिनको आक्रोश- चोरी गर्नेलाई दण्डित नगरिरहन सकिँदैन
अखबार टुडे
प्रकाशित:
२०८१, २ असार

मस्को, (एजेन्सी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार विदेशमा रुसी सम्पत्ति रोक्का गर्ने कार्यलाई ‘चोरी’ को संज्ञा दिँदै यसलाई ‘दण्डित’ गरिने चेतावनी दिएका छन् । जी७ का नेताहरूले बिहीबार फ्रिज भएको रुसी सम्पत्तिबाट नाफा प्रयोग गरेर युक्रेनका लागि ५० अर्ब डलरको नयाँ ऋणमा सहमति व्यक्त गरेका छन् ।

सन् २०२२ मा मस्कोले युक्रेनमा सेना पठाएको केही दिनपछि जी७ र युरोपेली सङ्घ (इयु)ले रुसी केन्द्रीय बैंकको करिब तीन खर्ब युरो (तीन खर्ब २५ अर्ब डलर) फ्रिज गरेका छन् ।

पुटिनले शुक्रबार पश्चिमी मुलुकहरूले ‘कुनै प्रकारको कानूनी आधार’ ल्याउन खोजिरहेको भन्दै ‘सबै छलका बाबजुद चोरी अझै पनि चोरी नै हो र यसलाई दण्डित नगरिरहन सकिँदैन’ उनले भने । उनले मस्को र पश्चिमबीचको गतिरोध ‘अस्वीकार्यरूपमा फिर्ता नहुने विन्दुको नजिक पुगेको’ चेतावनी दिँदै मस्कोसँग ‘आणविक हतियारको सबैभन्दा ठूलो शस्त्रागार रहेको’ दावी गरे ।

पुटिनले युक्रेनसँगको द्वन्द्वमा बारम्बार आणविक बयानबाजीको प्रयोग गरेका छन् । यसलाई उनले रुस र नाटो सैन्य गठबन्धनबीच व्यापक ‘हाइब्रिड युद्ध’मा मात्र एउटा मोर्चाका रूपमा प्रस्तुत गरेका छन् । राष्ट्रपति पुटिनले यसै साताको अन्त्यमा स्विट्जरल्यान्डमा हुने युक्रेन शान्ति मञ्चको आलोचना गर्दै यसलाई ‘सबैलाई विचलित गर्ने चाल’ भने ।

मस्कोलाई उक्त सम्मेलनमा आमन्त्रण गरिएको छैन । सम्मेलनमा करिब ९० मुलुकका राष्ट्राध्यक्ष र अन्तर्राष्ट्रिय सङ्गठनका वरिष्ठ अधिकारीहरूले सहभागिता जनाउनेछन् । युक्रेनले सेना फिर्ता गर्नुपर्छ र शान्तिवार्ताका लागि नाटोको प्रयास अन्त्य हुनुपर्छ

यसैबीच पुटिनले शुक्रबार युक्रेनले उसका चार वटा क्षेत्र र नाटो सदस्यताको प्रस्ताव त्यागेमा मस्कोले युद्ध बन्द गर्ने र शान्ति वार्ता सुरु गर्ने बताएका छन् ।

स्विट्जरल्यान्डमा युक्रेन र उसका सहयोगीहरूद्वारा आयोजित प्रमुख शान्ति शिखर सम्मेलनको पूर्व सन्ध्यामा उनले सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको पूर्णस्तरको सैन्य आक्रमण रोक्नका लागि आफ्ना ‘सर्तहरू’ को रूपरेखा प्रस्तुत गर्दै थिए ।

मस्कोमा रुसी राजनीतिज्ञहरूलाई टेलिभिजनमा सम्बोधन गर्दै उनले भने, ‘डोनेट्स्क जन गणतन्त्र, लुगान्स्क जन गणतन्त्र, खेरसान र जापोरिजिया क्षेत्रबाट युक्रेनी सैनिक पूर्णरूपमा फिर्ता हुनुपर्छ ।’

रुसले सन् २०२२ मा चारै क्षेत्रमा कब्जा गरेको दावी गरेको छ यद्यपि तीमध्ये कुनै पनि क्षेत्रमा उसको पूर्ण नियन्त्रण थिएन ।
‘यस्तो गर्न तयार रहेको किएभले भन्छ र वास्तवमै सैनिकहरूलाई फिर्ता सुरु गर्न थाल्छ तथा आधिकारिकरूपमा नाटोमा संलग्न हुने योजना त्याग्छ भने हामी तुरुन्त युद्धविराम गर्नेछौँ र वार्ता सुरु गर्नेछौँ’, उनले भने ।

उनले ‘रुसको क्रिमियासँग बलियो भूमि सम्बन्ध रहेको सर्तमा’ खेरसान र जापोरिजिया क्षेत्रमा ‘युक्रेनी सार्वभौमसत्ता कायम राख्न अस्वीकार नगर्ने’ बताएका थिए ।

प्रतिक्रिया