‘टिकटक बन्द गरेपछि अपराध र विकृति घटेको तथ्यांक सरकारसँग छ ?’
अखबार टुडे
प्रकाशित:
२०८१, १ असार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले अपराध र विकृति फैलिएको भन्दै टिकटकमाथि गरिएको प्रतिबन्धको औचित्यमा प्रश्न उठाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले व्यवस्थित र नियन्त्रितरूपमा टिकटक खोल्न माग गर्दै ‘टिकटक प्रतिबन्ध गरेको औचित्य के भयो भन्दै सरकारलाई प्रश्न गरे ।

‘टिकटक पहिले ९० लाखको हाराहारीमा चल्थ्यो, अहिले भीपीएनले ५० लाखले चलाइरहेको अनौपचारिक तथ्यांक छ । टिकटकको विकल्प फेसबुक, इन्स्टाग्राम, युट्युब सर्टस मज्जाले चलेकै छ’ उनले भने, ‘के सरकारले टिकटक बन्द भएपछि विकृति वा अपराध घटेको तथ्यांक वा प्रतिवेदन छ होला ?’

उनले टिकटक बन्द भएपछि ब्याण्डविथ घटेर डेटा बिक्रीमा हुने आम्दानी घटेर ऐनसेलको १ अर्ब ४४ करोड र एनटीसीले १.५ अर्ब रूपैयाँ घाटा भएको तथ्यांकले देखाएको बताए । सूचीकृत नभएका अन्य प्लेटफर्म विनारोकटोक चलिरहेको भन्दै उनले भने, ‘व्यवस्थित र नियन्त्रितरूपमा टिकटक खोल्न सरकारसँग आग्रह गर्न चाहन्छु ।’

प्रतिक्रिया