काठमाडौं । चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव बुधबार (आज)आजदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ । झाँकी प्रदर्शन, विशेष सांस्कृतिक प्रस्तुतिसहित महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा रानाले गरिन् ।
आदिवासी जनजाति चलचित्र महासंघद्वारा आयोजित उक्त चलचित्र महोत्सव जेठ २३, २४ र २५ गते तीन दिन सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न आदिवासी जनजाति समुदायका चलचित्रकर्मीद्वारा निर्माण गरिएका चलचित्र प्रदर्शन गरिनेछ ।
महोत्सवको उद्घाटन गर्दै उपसभामुख रानाले आदिवासी जनजाति समुदायप्रतिको आमबुझाइमा सकारात्मक परिवर्तन ल्याउन चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘अझै धेरै जनजाति समुदायका चलचित्रहरु बन्नुपर्छ । यी चलचित्रको माध्यमबाट हाम्रो जाति र सम्प्रदायको पहिचानलाई विश्व समाजमा चिनाउन र हामीप्रतिको मानसिकतामा परिवर्तन ल्याउनसक्नुपर्छ ।’
महासंघका अध्यक्ष पुर्खाजित राईले विभिन्न समुदायको संस्कार, संस्कृति, भाषा, रैथाने ज्ञानसीप, प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै र पहिचानलाई संरक्षण गर्न आदिवासी जनजाति चलचित्रकर्मीले मातृृभाषामा चलचित्र निर्माण गरिरहेको बताए ।
‘ती चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पु–याउन यो महोत्सव महत्वपूर्ण हुने विश्वास छ । जसका निम्ति महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्र र चलचित्रकर्मीको विशेष उपस्थिति र विशेष प्रदर्शन हुनेमा विश्वस्त छु ।’
कलाकार दयाहाङ राईले आफ्नो समुदायको चलचित्रलाई विश्व समुदायसँग साक्षात्कार गराउन सबै चलचित्रकर्मीलाई आह्वान गरे । उनले भने, ‘हामीभित्र धेरै कथा छ । हाम्रो मूल्य मान्यता र विश्वासमा चलचित्र बनेका छन्, अझ धेरै कुरा ल्याउन बाँकी छ । यस चलचित्र महोत्सवले विश्व समुदायमा हामी र हाम्रा चलचित्र देखाउनसक्नुपर्छ ।’
महोत्सवमा आदिवासी चलचित्र निर्माणमा योगदान पुराउने तीन जना चलचित्रकर्मीलाई सम्मान गरिएको थियो ।
महोत्सवमा बिहीबार र शुक्रबार विभिन्न नौ वटा आदिवासी चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिँदैछ । साथै, एक नवेजियन फिल्म पनि स्क्रिनिङ गरिँदैछ ।