सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
अखबार टुडे
प्रकाशित:
२०८१, २२ जेष्ठ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि गत जेठ १८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।

मंगलबार (आज) सुन प्रतितोला एक लाख ४२ हजार ७ सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला एक हजार ७ सय रूपैयाँ बढेको हो ।

यस्तै, सोमबार प्रतितोला १८ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया