काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
निगमका अनुसार शुक्रबार नै भारतीय आयल कर्पोरेशनले पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ रुपैयाँ घटाएर नयाँ मूल्यसूची पठाएको थियो । यस्तै डिजेलको मूल्य प्रतिलिटर २.४५ रुपैयाँ घटेर आएको थियो ।
सरकारले बजेट वक्तव्यमार्फत सरकारले लगाएको हरित कर समेत जोडेर निगमले मूल्य समायोजन गरेको जनाएको छ । सरकारले हरित करको रूपमा पेट्रोल र डिजेलमा रु १ प्रतिलिटर कर लगाउने घोषणा बजेटमार्फत गरेको थियो ।
घटेको मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ । निगमले लागू गरेको नयाँ मूल्य शनिबार बिहान १२ बजेदेखि लागू हुनेछ ।
निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाल यथावत् रहेको जनाएको छ ।