डोनाल्ट ट्रम्प ३४ मुद्दामा दोषी ठहर, आगामी राष्ट्रपति निर्वाचनमा उठ्न पाउँछन् ?
अखबार टुडे
प्रकाशित:
२०८१, १८ जेष्ठ

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्यूयोर्कको एक अदालतले ३४ मुद्दामा दोषी ठहर गरेको छ । व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको आरोप लागेका पूर्वराष्ट्रपति ट्रम्प ३४ वटा कसुरममा दोषी ठहर भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।

अदालतले उनको सजाय जुलाई ११ मा सुनाइने बताइएको छ । ट्रम्पले भने उक्त निर्णयको विरोध गर्दै लाजमर्दो र धाँधली भएको दावी गरेका छन् ।

अमेरिकी इतिहासमा वर्तमान वा पूर्वराष्ट्रपतिलाई आपराधिक मुद्दा चलाइएको र दोषी ठहराइएको यो पहिलो घटना हो । अमेरिकी राष्ट्रपति जो बाइडेनको अभियान टोलीले ‘कानूनभन्दा माथि कोही नभएको’ भन्दै निर्णयलाई उचित ठहर गरेको छ ।

अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावको लागि डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार हुन् । ट्रम्पलाई दोषी ठहराएपछि ट्रम्पको अभियान टोलीले उनलाई ‘राजनीतिक बन्दी’को रूपमा प्रस्तुत गरेको र ठूलो संख्यामा मानिसले चन्दा दिएको दाबी गरिएको छ ।

बाइडेन सत्तारुढ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन् । उनको अभियान टोलीले ट्रम्पले अझैपनि मतदानमा हार्न बाँकी नै रहेको बताइएको छ । ट्रम्पमाथि २०१६ को राष्ट्रपति चुनावअघि पोर्न स्टार स्टर्मी डेनियललाई मौन रहन ‘हश मनी’ भुक्तानी गरेको र आफ्नो कारोबारमा हेरफेर गरेको ३४ आरोप लागेको छ । ट्रम्पले भने आफूमाथि लगाइएको आरोपहरु अस्वीकार गर्दै आएका थिए ।

अदालतबाट दोषी ठहर भएपनि ट्रम्प यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्नेछन् । अमेरिकी संविधानले राष्ट्रपति पदका उम्मेदवारका लागि कम्तीमा उमेर ३५ वर्ष, संयुक्त राज्यको आजीवन नागरिक भएको र कम्तीमा १४ वर्षसम्म संयुक्त राज्य अमेरिकामा बसेको हुनुपर्ने न्यूनतम योग्यता तय गरेको छ ।

आपराधिक अभिलेख भएका उम्मेदवारलाई चुनाव लड्न नदिने कुनै कानुन छैन । जेलमा रहेका व्यक्तिले पनि राष्ट्रपतिको चुनाव लड्न सक्ने बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया