राष्ट्रसंघद्वारा शान्ति सैनिक राईलाई मरणोपरान्त सम्मान
अखबार टुडे
प्रकाशित:
२०८१, १८ जेष्ठ

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घीय शान्ति सेनामा खटिइका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन् ।

अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका अवसरमा संयुक्त राष्ट्रसंघको प्रधानकार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको उक्त पदक संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवङ्गत हुनुभएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उनी शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे । राईको गत अक्टोवर १३ मा कंगोमा निधन भएको हो ।

सन् १९४८ मा इजरायल–अरब युद्धविराम सम्झौता कार्यान्वयनको पर्यवेक्षण गर्न मध्यपूर्वमा सैन्य पर्यवेक्षक परिचालन गर्ने निर्णय भएको दिन ३० मेलाई अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका रूपमा मनाइने गरेको छ ।

नेपाल राष्ट्रसङ्घीय शान्ति सेनामा सर्वाधिक सैनिक परिचालन गर्ने मुलुकमध्येको एक हो । छ हजारभन्दा बढी नेपाली शान्ति सेनामा परिचालन भएका छन् ।

राष्ट्रसंघले अबेई, मध्य अफ्रिकी गणतन्त्र कङ्गो, साइप्रस, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इराक, कोसोभो, लेबनान, लिबियामा नेपाली शान्ति सेनालाई खटाउँदै आएको छ ।

पूर्वी सोमालिया, दक्षिण सुडान, पश्चिमी सहारा र यमनमा पनि नेपाली शान्ति सेना तैनाथ छन् । नेपाल सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मीलाई शान्ति सेनाका रूपमा खटाउँदै आएको छ ।

प्रतिक्रिया