काठमाडौं । आइसिसी टी–२० विश्वकपका खेल्नुअघि नेपालले आज दोस्रो तथा अन्तिम अभ्यास खेल आयोजक राष्ट्र अमेरिकासँग खेल्दैछ । डालासस्थित ग्रान्ड प्रेइरी स्टेडिययममा नेपाली समयअनुसार खेल बेलुकी सवा ९ बजेदेखि सुरू हुनेछ ।
सेन्ट प्रेइरीमै नेपालले क्यानडासँग सोमबार पहिलो औपचारिक अभ्यास खेल खेलेको थियो । उक्त खेलमा नेपाल ६३ रनले पराजित भएको थियो । त्यसअघि नेपालले ह्युस्टन हुरिकेनसँग दुई अभ्यास खेलमा दुवै खेल जितेको थियो ।
नेपालले वेस्ट इण्डिजमा पनि अभ्यास खेल खेलेको थियो । सेन्ट भिसेन्टमा स्थानीय टिम विन्वार्ड भोलक्यानोजविरूद्धको सिरिजमा नेपाल विजयी भएको थियो । टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले विश्वकपको पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ भने जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन् ।