काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्नका लागि अमेरिकामा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा पनि जितेको छ ।
आइतबार बिहान ह्युस्टन हुरिकेनविरूद्धको दोस्रो अभ्यास खेलमा नेपाल २७ रनले विजयी भएको हो । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२३ रन बनाएको थियो । ह्युस्टन १८.३ ओभरमा अलआउट हुँदा ९६ रन मात्रै बनाउन सक्यो ।
यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको थियो । शनिबारको खेलमा नेपालले १४७ रनको लक्ष्य दिएको खेलमा ह्युस्टनले ८ विकेट गुमाएर १४० रन बनाएको थियो ।
नेपालले भोलिदेखि औपचारिक अभ्यास खेल खेल्नेछ । भोलि क्यानडा र जेठ १७ मा अमेरिकासँग खेल्ने तालिका छ । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन् ।