
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोलि आइतबार काठमाडौंमा बृहत प्रदर्शन गर्दैछ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसद अवरुद्ध गर्दै आएको कांग्रेस आइतबारबाट सडकमा उत्रन लागेको हो ।
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार सरकारको ज्यादती र सहकारी ठगीविरुद्ध काठमाडौंमा प्रदर्शनको तयारी भइरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताएका छन् ।
कांग्रेसका भ्रातृ संगठनहरु नेविसंघ, तरुण दल, महिला संघलगायत यसअघि नै सडकमा आइसकेका छन् । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजे हुने आन्दोलनको तयारी पूरा भएको नेता विश्वकर्माले बताए । कांग्रेसले भोलिको प्रदर्शनलाई सरकारको ‘अलोकतान्त्रिक र असंवैधानिक रवैया र सहकारी ठगीविरुद्ध’ भनेको छ ।
‘भोलिको प्रदर्शनको कार्यक्रम काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समितिले आयोजना गर्ने हो । केन्द्रले समर्थन गर्ने र सहभागी हुने हो । त्यसका लागि प्रचारप्रसारको काम भइरहेको छ’ उनले भने, ‘जिल्ला समितिले गर्ने भएपछि केन्द्रले धेरै तयारी गर्नुपर्दैन । उहाँहरुले आआफ्नो ठाउँबाट गरिरहनुभएको छ ।’
कांग्रेसले किन खुलासभा र सडक प्रदर्शन गर्नुप¥यो भनेर जनतालाई बुझाउन तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाइएको उनको भनाइ छ ।
कांग्रेसले काठमाडौं–१ मा अब्दुल सतार, २ मा सीता थपलिया (उर्मिला), ३ मा रंगमती शाही, ४ मा कुन्दन काफ्ले, ५ मा नैनसिंह महर, ६ मा गुरु बराल, ७ मा आङगेलु शेर्पा, ८ मा उमेशजंग रायमाझी, ९ मा डा. डिला संग्रौला र १० मा सरिता प्रसाईंलाई प्रतिनिधि बनाएर पठाएको हो ।
यस्तै, ललितपुर– १ मा उमाकान्त चौधरी, २ मा देवेन्द्रराज कँडेल र ३ मा अर्जुन जोशीलाई पठाइएको छ । भक्तपुर– १ मा इन्द्र बानियाँ र २ मा गणेश लामालाई पठाइएको छ ।
नेता विश्वकर्माले सरकारलाई सचेत र ध्यानाकर्षण गराउन प्रदर्शन गर्न लागेको बताए । उनले भने, ‘संसदमा सभामुखले पनि एकतर्फी चलाउन थालेका छन् । संसदमा बोल्न नदिएपछि हामी सडकबाट बोल्छौं भनेर आन्दोलन गर्न लागेका हौं ।’
सहकारी प्रकरणमा छानबिन गर्न बनाउने भनिएको समितिको कार्यादेशबारे छलफल चलिरहेको छ, तर यो सहमति भएपनि आफूहरुले तय गरेको प्रदर्शनको कार्यक्रम नरोकिने उनले बताएका छन् ।
‘आज सहमति भएपनि सभा हुन्छन्, हामीले सहकारी ठगीको विषयमात्रै उठाएका छैनौं’ उनले भने, ‘प्रेसमाथिको आक्रमणको कुरा भयो । भ्रष्टाचारको मुद्दामा आफ्नालाई जोगाउने र विपक्षीलाई तह लगाउने काम गरिहनुभएको छ । सबै बेथिति र विसंगतिविरुद्ध नै भोलिको प्रदर्शन हो । सहकारी ठगीमा त रविमात्रै होइन धेरै छन्, रवि मन्त्री भएका कारणले छानबिनको माग गरेका छौं ।’
उनले भोलि बिहानै सहमति भएपनि तय भइसकेको कार्यक्रम नरोकिने दोहो¥याए । कांग्रेसले विभिन्न सहकारीबाट करिब ५ खर्ब अपचलन भएको र मुलुकभरिका केही दर्जन ठूला सहकारी संस्थाले मात्रै सर्वसाधारण बचतकर्ताको २ खर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्यहरू सार्वजनिक भएको भन्दै त्यस विषयलाई उठाइरहेको छ ।
कांग्रेसले लाखौं नेपाली नागरिकले सहकारीमा बचत गरेको खर्बौं रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएका विषयमा निरन्तर सदनमा आवाज उठाइरहेको, बचतकर्ताको रकम फिर्ता र सुरक्षाको सुनिश्चितताको माग गर्दै आएको छ ।
