मस्को । रुसी राज्य आणविक निगम-रोसाटोमका प्रमुख एलेक्सी लिखाचेभले भारतले यो गर्मीमा अर्को पुस्ताको आणविक इन्धन प्राप्त गर्ने बताएका छन् । रुसी टुडे (आरटी)का अनुसार उनले भारतलाई आणविक क्षेत्रमा प्रमुख साझेदार रहेको बताएका छन् ।
आणविक ऊर्जा आयोगका अध्यक्ष अजीतकुमार मोहन्तीलाई बिहीबार रुसको साइबेरियाको टम्स्क क्षेत्रमा रुसी आणवकि प्रमुख लिखाचेभले स्वागत गरेका थिए ।
आरटी–इन्डियाको रिपोर्टअनुसार रुसी आणविक प्रमुखले मोहन्तीलाई इतिहासमा सबैभन्दा सुरक्षित आणविक भट्टीको आयोजना गर्ने चौथो पुस्ताको साइट पनि देखाएका थिए । यसका साथै रोसाटोमका प्रमुख लिखाचेभले भारतलाई आणविक क्षेत्रमा प्रमुख साझेदार भन्दै दुवै मुलुकबीचको सहकार्यको प्रशंसा गरेका छन् ।
यसअघि बिहीबार मोहन्ती र रोसाटोम प्रमुख लिखाचेभले टम्स्क क्षेत्रको सेभर्स्कमा भेटवार्ता गरेका थिए । रोसाटोमले जारी गरेको विज्ञप्तिअनुसार रुसी र भारतीय आणविक उद्योगका नेताहरूले ‘प्रोरिभ’ (द ब्रेकथु्र) रणनीतिक उद्योग परियोजनाको एक भागका रूपमा टम्स्क क्षेत्रको सेभेर्स्कमा निर्माणाधीन पाइलट प्रदर्शन ऊर्जा परिसर (पिडिइसी) स्थलको भ्रमण गरेका छन् ।
संयुक्त भ्रमणका क्रममा आणविक क्षेत्रमा रुस–भारत सहयोगका सम्भावित क्षेत्रहरूमा पनि विस्तुत छलफल भएको छ ।
‘हामी शान्तिपूर्ण उद्देश्यका लागि आणविक ऊर्जाको प्रयोग क्षेत्रमा भारतसँग सहयोगको गम्भीर विस्तारका लागि तयार छौँ, भारतमा नयाँ साइटमा रुसी–डिजाइन डिजाइन गरिएको उच्च क्षमताको आणविक ऊर्जा एकाइहरूको क्रमिक निर्माण र कार्यान्वयन समावेश छ’, लिखाचेभले भनेका छन् ।
आणविक ऊर्जा आयोगका अध्यक्ष मोहन्ती रुसका लागि भारतीय राजदूत विनय कुमारसँग रुसको टम्स्क क्षेत्रको भ्रमणमा छन् ।