प्यालेस्टाइनलाई अलग राज्य मान्न तयार छैनन् इजरायल
अखबार टुडे
प्रकाशित:
२०८१, १० जेष्ठ

काठमाडौं । नर्वे, स्पेन र आयरल्यान्डले प्यालेस्टाइनलाइै छुट्टै राज्य घोषणा गरेपछि इजरायल आक्रोशित भएको छ । यी तीन देशले आगामी साताबाट प्यालेस्टाइनलाई औपचारिक रुपमा छुट्टै राज्यको मान्यता दिने घोषणा गरेका छन् ।

तर, इजरायललाई त्यो मान्य छैन । बीबीसीले उल्लेख गरे अनुसार उक्त घोषणालगत्तै इजरायलले ती देशबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ ।

इजरायली विदेशमन्त्री इजरायल काट्जले यो कदमले आफ्नो देशको सुरक्षामा खतरा हुने भएको भन्दै ती देशका राजदूतलाई फिर्ता बोलाएको हुन् । इजरायल काट्जले यस कदमलाई ‘हमासका हत्यारा र बलात्कारीहरूलाई स्वर्ण पदक दिनुजस्तै’ भएको टिप्पणी गरेको बीबीसीले उल्लेख गरेको छ ।

उनले पत्रकारहरूसँग भने, ‘प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने कुरा गर्ने देशहरूले नुख्बा फोर्स (हमासको कुलीन सेना), हत्यारा र यातना दिनेहरूलाई पुरस्कृत गरिरहेका छन् । म उनीहरूलाई भन्छु– हामी प्यालेस्टाइन राज्यको मान्यता दिने घोषणालाई अनुमति दिँदैनौँ ।’

इजरायल सरकारका प्रवक्ता एभी हेम्यानले यो निर्णयले कसैको पनि भलो नहुने चेतावनी दिएका छन् । ‘इजरायल एक प्रजातान्त्रिक देश हो । यदि इजरायलका जनताले यो निर्णय लिन्छन्, छलफल हुन्छ र निष्कर्षमा पुगिन्छ’ उनले भने, ‘यो यस्तो बहसको विषय जुन हुन जरुरी छ ।’

उनले थपे, ‘यदि नर्वे, स्पेन र आयरल्यान्डले यस्तो घोषणा गर्न चाहन्छन् भने तपाईंलाई थाहा छ– उनीहरू इतिहासको गलत पक्षमा उभिएका छन् । उनीहरूलाई त्यस्तो गर्न दिनुहोस् ।’

इजरायली प्रधानमन्त्री नेतान्याहुका प्रवक्ता ताल हेनरिकले नर्वे, स्पेन र आयरल्यान्डले विश्व, हमास र उनका समर्थकहरूलाई अक्टोबर ७ मा भएको नरसंहारका लागि पुरस्कार दिएको सन्देश दिएको टिप्पणी गरेका बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया