कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ : सिरोहियाले भने- न्यूजकै कारण पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८१, ८ जेष्ठ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार साँझ साढे ६ बजे थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट सिरोहियालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुर कार्यालय पुगेको थियो । केही समयपछि कार्यालयकै प्रमुख एसएसपी सानुराम भट्टराई समेत कान्तिपुर पुगेका थिए । उनीहरूको टोलीले कान्तिपुर अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो ।

प्रहरीले सिरोहियालाई पक्राउ गरेपछि कान्तिपुर परिसरमा गृहमन्त्री रवि लामिछानेविरूद्ध नाराबाजी भएको थियो । सिरोहियाले आफूमाथि कार्यकक्षबाटै पक्राउ गरिएको बताए । सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेको थियो ।

सिरोहियाले भने– समाचारकै कारण मलाई पक्राउ गरिएको हो

पक्राउ परेपछि कान्तिपुर कार्यालय परिसरमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै सिरोहियाले आफूलाई नागरिकता काण्डमा भन्दा पनि सहकारी ठगीबारे गृहमन्त्री रवि लामिछानेबारे समाचार लेखिएकोमा पक्राउ गरिएको बताए ।

साथै, उनले गृहमन्त्री लामिछानेमाथि दुईटा पासपोर्ट प्रयोगको मुद्दा रहेको पनि बताए । उनले भने, ‘गृहमन्त्री रवि लामिछानेमाथि त दुईटा पासपोर्टको मुद्दा छ । यसैलाई मेरो उजुरी मानेर भोलि वारेन्ट जारी हुनेमा म विश्वस्त छु । किनभने उहाँले दुईटा पासपोर्ट प्रयोग गर्नुभएको छ, कुनै महान्यायाधिवक्तालाई यो अधिकार छैन ।’सिरोहियाले आफूमाथि लागेको आरोपबारे छानबिन गर्न सहयोग गर्ने पनि बताएका छन् ।

सिरोहियाले भने, ‘तर जुन हिसाबले नवअधिनायकवाद देखिएको छ, मलाई कार्यकक्षबाटै गिरफ्तार गरिँदैछ । म अन्तििमसम्म लडाइँ लड्छु । तर, यो देशमा कानून छ । दुईटा पासपोर्ट बोक्ने ? उहाँविरूद्ध सहकारी बचत ठगीमा यत्रो न्युज आइरहेको छ । मलाई नागरिकता काण्डमा गिरफ्तार गरेको होइन, कान्तिपुरमा सहकारी र उहाँविरूद्ध आएका न्युजका कारण हो ।’

प्रतिक्रिया