‘मानव निर्मित संरचनाका कारण भूकम्पको जोखिम झन् बढ्यो’
अखबार टुडे
प्रकाशित:
२०८१, १२ बैशाख

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च भूकम्पीय जोखिममा रहेको भन्दै बढ्दो सहरीकरणले जोखिमलाई झन् बढाएको बताएका छन् ।

गोरखा भूकम्पको नवौँ स्मृति दिवसमा बुधबार एक सन्देश जारी गर्दै उनले भूकम्पलाई न्यूनीकरण गर्ने प्रभावकारी उपायको अवलम्बन गर्न र सुरक्षात्मक उपायसम्बन्धी प्रभावकारी जनचेतना फैलाउन सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् । उनले भूकम्प र त्यसपछिका परकम्पमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धा सुमनसमेत व्यक्त गरेका छन् ।

प्राकृतिक विपद् र उच्च भूकम्पीय जोखिममा नेपाल रहेको स्मरण गराउँदै राष्ट्रपति पौडेलले बढ्दो सहरीकरणका कारण भूकम्पको जोखिम बढ्दै गएको बताएका छन् ।

राष्ट्रपति पौडेलले भनेका छन्, ‘भूकम्प एक प्राकृतिक विपद् भएता पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिएता पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ ।’

उनले पौडेलले भूकम्पबाट जोगिन सुरक्षा उपायको अवलम्बन र जनचेतना फैलाउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । ‘नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार रहेको छ’ राष्ट्रपति पौडेलले भनेक छन्, ‘हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपायहरू र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरुरी छ । म यसका लागि सम्बन्धित निकायहरूको ध्यान आकृष्ट गराउन चाहन्छु ।’

प्रतिक्रिया