गुल्मीको इस्मामा भीषण आगलागी, करिब ४० घरगोठ जलेर नष्ट
अखबार टुडे
प्रकाशित:
२०८१, ८ बैशाख

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा शनिबार भीषण अगालागी भएको छ । आगलागीबाट करिब ४० वटा घरगोठ जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा आगलागी हुँदा करिब ४० घरगोठ जलेका हुन् ।

आगलागीमा परेर २ जना घाइते भएको प्रहरीले जनाएको छ । आगलागीमा परेर इस्मा १ बस्ने ट्रयाक्टर चालक हिमाल राना र मुसिकोट नगरपालिका ७ बस्ने प्रेम राना घाइते भएका हुन् । घाइते दुवै जनालाई उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।

आगालागीमा घर, गोठ, किराना पसल, मिलसमेत जलेको छ । डीएसपी पोखरेलका अनुसार इस्मा २ मा १५ वटा बाख्रा र ४ वटा भैसीसमेत जलेका छन् भने लु ४ प ६५३५ नम्बरको ट्रयाक्टर जलेर क्षतिग्रस्त भएको छ ।

जिल्लाका विभिन्न स्थानमा डढेलो लागिरहेको समेत उनले जानकारी दिए । जंगलमा लागेको डढेलोबाट आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट क्षतिको विवरण आएको छैन । आगो अझै नियन्त्रणमा हुन सकेको छैन । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको टोली आगलागी नियन्त्रणमा खटिइरहेका छन् ।

प्रतिक्रिया