कोशीमा मुख्यमन्त्री हटाउन एमाले-माओवादीको संकल्प प्रस्ताव
अखबार टुडे
प्रकाशित:
२०८१, ३ बैशाख

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत माग्न निर्देशन दिन प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

सोमबार एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक रहेको उक्त संकल्प प्रस्तावको समर्थकमा एमाले प्रदेश सांसद किशोरचन्द्र दुलाल र माओवादी सांसद गणेश उप्रेती रहेका छन् ।

कोशीमा मुख्यमन्त्री कार्कीलाई अपदस्त गरेर नयाँ सरकार गठन गर्ने उद्देश्यसहित एमाले र माओवादीले संकल्प प्रस्ताव पेस गरेका हुन् । मुख्यमन्त्री कार्कीलाई २५ वैशाखभित्र विश्वासको मत लिनुपर्ने भन्दै प्रदेशसभाबाट यस्तो निर्देशन दिन माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

संकल्प प्रस्तावमा कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा वैकल्पिक सरकार दिन सक्षम रहेको पनि उल्लेख गरिएको छ ।

यसअघि एमाले र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेशको अधिवेशन माग गरेका थिए । एमाले र माओवादीको मागअनुसार प्रदेश प्रमुख परशुराम खापुङले बैशाख ६ गते प्रदेशसभाको अधिवेशन बोलाएका छन् ।

प्रतिक्रिया