इजरायलमाथि इरानी हमलापछि आपतकालीन सुरक्षा परिषदको बैठक
अखबार टुडे
प्रकाशित:
२०८१, २ बैशाख

काठमाडौं । इरानले इजरायलमाथि हमला गरेपछि संयुक्त राष्ट्रसंघको आपतकालिन सरक्षा बैठक बस्ने भएको छ । राष्ट्रसंघको अनुरोधमा आज आइतबार सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्न लागेको बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा राखिएको एक सन्देशमा राष्ट्रसंघका लागि इजरायलका राजदूत गिलाड एर्डानले इरानले गरेको हमलालाई ‘विश्वव्यापी शान्ति र सुरक्षामाथि नै गम्भीर संकट’ भनेका छन् ।

इरानविरुद्ध ठोस कदम चाल्न सुरक्षा परिषद्ले सम्पूर्ण उपायहरू अवलम्बन गर्ने अपेक्षा गरेको पनि उनले बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले इरानको कदमको निन्दा गर्दै त्यस क्षेत्रभर नै तनाव चर्केर जाने वास्तविक खतराप्रति चिन्तित रहेको पनि उनले बताएका छन् ।

इरानले इजरायलमा हवाई हमला गरेपछि इजिप्टले आफ्नो हवाई सुरक्षा प्रणालीलाई उच्चतम सतर्क अवस्थामा राखेको बीबीसीले उल्ल्लेख गरेको छ । इजिप्टले त्यस क्षेत्र र त्यहाँका जनतालाई थप अस्थिरताको अवस्थाबाट जोगाउन अत्यन्त संयम अपनाउन सबै पक्षलाई आग्रह गरेको छ ।

यस्तै, चीनको विदेश मन्त्रालयले पछिल्लो तनावपूर्ण अवस्था गाजामा जारी युद्धको पछिल्लो परिणाम भन्दै शान्तिका लागि आह्वान गरेको छ । चीनले त्यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि रचनात्मक भूमिका खेल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

आर्जेन्टिनाका राष्ट्रपति हाभिएर मिलेइको कार्यालयले इजरायलप्रति ‘ऐक्यबद्धता र अटल प्रतिबद्धता’ व्यक्त गर्दै एक वक्तव्य जारी गरेको छ ।

यस्तै, ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले इरानी हमलालाई गैरजिम्मेवार भन्दै निन्दा गरेका छन् । बीबीस्किा अनुसार उनले इरानलाई आफ्नै छिमेकमा अशान्तिको बीज रोपेको आरोप लगाएका छन् ।

प्रतिक्रिया