काठमाडौंलाई जिउँदो र जाग्दो शहर बनाउन लागिरहेका छौँ : गृहमन्त्री
अखबार टुडे
प्रकाशित:
२०८१, १ बैशाख

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साट्दै यस्तो बताएका हुन् ।

जनताका सबै किसिमका गुनासाहरु यथोचित ढंगबाट समाधान हुने बताउँदै उनले कर्मचारीहरुमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रहबिना नै काम गर्ने वातावरण बनाइने उनको भनाइ थियो ।

काठमाडौं शहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४सै घण्टा दरबारमार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको उनले बताए । उनले भने, ‘काठमाडौं जिउँदो, जाग्दो शहर बनाउन म र हाम्रो टिम लागिरहेका छौँ ।’

सो अवसरमा गृहमन्त्री लामिछानेले चालक, यात्रु र ड्युटीमा रहेका प्रहरीलाई मिठाइ बाँडेका थिए । प्रहरी प्रमख बसन्त कुँवरलाई साथ लिएर थापाथली पुगेका उनले सवारी चालक, यात्रु, पैदलयात्री र ड्युटीमा रहेका प्रहरीलाई मिठाई बाँडेका हुन् ।

उनले यात्रुहरूलाई सुरक्षित यात्राको कामना गर्दै ड्युटीमा रहेका प्रहरीहरूलाई नागरिकसँग सभ्य व्यवहार गर्न अनुरोध पनि गरेका छन् । उनले नयाँ उत्साहका साथ नयाँ वर्ष सुरूवात होस् भन्नका लागि आफू सडकमा उपस्थित भएको बताए ।

प्रतिक्रिया