राष्ट्रिय व्यक्तित्वलाई सम्मान समर्पण
अखबार टुडे
प्रकाशित:
२०८०, २८ चैत्र

बनेपा । आठ जना राष्ट्रिय व्यक्तित्वलाई विभिन्न सम्मान समर्पण गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा राष्ट्रका आठजना राष्ट्रिय व्यक्तित्वलाई सम्मान समर्पण गरिएको हो ।

समारोहमा ताप्लेजुङका पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठलाई राष्ट्रझङ्कार सम्मान, सिराहाका भाषावैज्ञानिक डा. योगेन्द्रप्रसाद यादवलाई भाषासेवा सम्मान, काठमाडौँका समालोचक डा. सुषमा आचार्यलाई समालोचना सम्मान र बागलुङका मुकुन्द शर्मा चालिसेलाई कविताकाव्य सम्मानबाट सम्मानित गरिएको थियो । यसै गरी काठमाडौंका हरिःशरणम् आमा लक्ष्मी भुसाललाई आमसञ्चार सम्मान, भक्तपुरका चट्याङ मास्टरलाई हास्यव्यङ्ग्य सम्मान, नुवाकोटका डा. ध्रुव घिमिरेलाई बालसाहित्य सम्मान र पर्वतका डा. षडानन्द पौड्याललाई अनुसन्धान सम्मानबाट सम्मानित गरिएको थियो ।

उनीहरूलाई सावित्री जङ्गम थापा, गोपाल पराजुली, हरि गोपाल प्रधान, शारदाप्रसाद शर्मा, कविप्रसाद प्याकुरेल, गीता अधिकारी, राजेन्द्र विरही र पूर्णबहादुर कर्माचार्यले अभिवन्दनापत्र, किरीट, भेटी, रुद्राक्षमाला र उपहारले सम्मान गरेका थिए । सम्मानित व्यक्तित्वहरूलाई भरत जङ्गम, लीलादेवी श्रेष्ठ र दीपरत्न शाक्यका तर्फबाट थप उपहारहरू समर्पण गरिएका थिए । सम्मानित व्यक्तित्वहरूको चिनारी चयन समितिका संयोजक शिक्षासेवी रामप्रसाद अधिकारीले गराएका थिए ।

सम्मान सामग्रीको व्यवस्थापन पुण्यवती घलेले र प्रमाणपत्रको वाचन कालिका त्रिपाठी पन्तले गरेका थिए भने सञ्चालन हरि मञ्जुश्रीबाट गरिएको थियो । समारोहमा अनुपस्थित रहेका डा. योगेन्द्रप्रसाद यादवको सम्मान सामग्री देवीप्रसाद ढुङ्गानाले ग्रहण गरेका थिए । कार्यक्रमको सभापति हरि गोपाल प्रधानले गरेका थिए ।

प्रतिक्रिया