टी-२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी सार्वजनिक
अखबार टुडे
प्रकाशित:
२०८०, २६ चैत्र

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी जुन महिनामा वेस्ट इन्डिज र अमेरिकामा हुने आइसिसी टी–२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी सार्वजनिक गरिएको छ । क्यानले सोमबार नेपाली टिमले लगाउने जर्सी सार्वजनिक गरेको हो ।

सार्वजनिक नयाँ जर्सीमा निलो र रातो रंग मिश्रित छ भने दुवै काँधमा नेपालको झण्डा छ । यस्तै, जर्सीको तल्लो भागमा सगरमाथा अंकित छ । छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो छ ।

विश्वकप नेपाल समूह ‘डी’ मा रहेको छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्ने तालिका छ । बाँकी खेलहरु नेपालले वेस्ट इन्डिजमा खेल्नेछ । जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन् । त्यसपछि १९ देखि २४ जुनसम्म सुपर–८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ ।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्न लागेका हुन् । पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी–२० विश्वकपमा २० टिमले सहभागिता जनाउँदैछन् ।

विश्वकपमा ५५ खेल हुनेछन् । सुरुमा २० टिमलाई ५–५ टिमको ४ समूहमा विभाजन गरिएको हो । ४ समूहका शीर्ष २–२ टिम गरी कुल ८ टिम सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन् । सुपर–२ को दुई समूहका शीर्ष २–२ टिम सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया