पूर्वराजा ज्ञानेन्दले भने, ‘अब सुध्रौँ, अब चेतौँ’
अखबार टुडे
प्रकाशित:
२०८०, २४ चैत्र

खलंगा (जुम्ला) । पूर्वराजा ज्ञानेन्द शाहले नयाँ समझदारी, सर्वपक्षीय र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको बताएका छन् । शनिबार जुम्लाको सदरमुकाम खलंगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहले अपार सम्पदा हुँदाहुँदै पनि देश परनिर्भरतातिर गइरहेकोमा चिन्ता समेत व्यक्त गरे ।

पूर्वराजा शाहले भने, ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको छ ।’ आफ्नै भूगर्भभित्र अथाह धन भएर पनि हामीहरु खानका लागि काम खोज्न भौतारी रहेको उनको भनाइ छ ।

उनले भने, ‘कालिकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन ? तर खै ? त्यसैले म भन्छु– अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ ।’

उनले यातायातको विकटता, हावापानीको जटिलता, आर्थिक साधनको कठिनता, विपन्नता तथा शिक्षा चेतनाको कमीका कारण आफ्नो श्रम सीप र श्रोतको सही उपयोग जुम्लाले गर्न नपाएको धारणा व्यक्त गरे । शाहले भने, ‘आफू जन्मेहुर्केको आफ्नो थातथलो छोडेर अन्यत्र बसाइ सर्नुपर्ने, अर्काको देशमा गएर तातो ताप पीडा खप्नु पर्ने अवस्थाको अब अन्त्य हुनुपर्दछ ।’

पछिल्लो समय शाहको दौडधुप बढ्दै गएको छ । यसैक्रममा शनिबार जुम्ला पुगेका शाहलाई निधारित कार्यक्रम अनसार नागरिक अभिनन्दन गरिएको छ । साथै, उनले जुम्ला खलंगा बजारमा रहेको चन्दननाथ र भैरवनाथको दर्शन पनि गरेका छन् ।

प्रतिक्रिया