नाउपामा विवाद : रञ्जितालाई काउन्टर, मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्विप जारी
अखबार टुडे
प्रकाशित:
२०८०, २१ चैत्र

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । मुख्यमन्त्री शाहले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।


नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुसीराम डगौराले सांसदहरुलाई अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन जारी गरेका छन् । जबकी, बुधबार (आजै) नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी थिइन् ।

नाउपाका सांसदहरुलाई पत्र लेख्दै रञ्जिताले सुदूरपश्चिम प्रदेश संसदीय दललाई प्रदेशसभाको महत्त्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई भएको बताएकी छन् ।

नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालनलगायत कार्यक्रमहरुका लागि घनश्याम चौधरीले संसदीय दलको नेताको रुपमा काम गरिरहेको उनले स्पष्ट पारेकी छन् ।

सुदुरपश्चिम सरकारलाई समर्थन गर्ने र नगर्ने पक्षमा अध्यक्ष रन्जिता र पार्टीका संरक्षक रेशम चौधरी विवाद रहँदै आएको छ । उक्त विवाद सतहमा आएसँगै नाउपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । रन्जिता केन्द्रका बनेको नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने पक्षमा छिन् भने रेशम पुरानै कांग्रेससहितको गठबन्धनको पक्षमा छन् ।

सुदुरपश्चिम प्रदेशसभामा नाउपाका सात सांसद छन् । जसमध्ये पाँच जना मन्त्री छन् । उनीहरुलाई बारम्बार फिर्ता हुन रन्जिताले निर्देशन गर्दै आएकी छन् । तर, पार्टी अध्यक्षको निर्देशनको बेवास्ता गर्दै उनी सरकारमै बसेका छन् । त्यसैले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएर सुदुरपश्चिम सरकारलाई जोगाउने पक्षमा लागेका हुन् ।

प्रतिक्रिया