अल जजिरालाई ‘आतंकारी च्यानल’ भएको इजरायलको आरोप, अल जजिराद्वारा निन्दा
अखबार टुडे
प्रकाशित:
२०८०, २० चैत्र

काठमाडौं । इजरायलले अल जजिरा टेलिभिजनलाई ‘आतंककारी’ च्यानल भएको आरोप लगाउँदै प्रतिबन्ध गर्ने जनाएको छ । इजरायली संसदले सरकारलाई अस्थायीरूपमा विदेशी मिडिया बन्द गर्न अनुमति दिने कानून सोमबार पारित गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा लेखेका छन्, ‘आतंकवादी च्यानल अल जजिराले अब इजरायलबाट प्रसारण गर्ने छैन । म च्यानलको गतिविधि रोक्नका लागि नयाँ कानून बमोजिम तुरून्तै कदम चाल्न चाहन्छु ।’ तर, उनले कहिलेदेखि च्यानलमाथि प्रतिबन्ध लगाउने भनेर खुलाएका छैनन् ।

प्रधानमन्त्री नेतन्याहुले कुनै विदेशी मिडियाले इजरायलको राष्ट्रिय सुरक्षालाई ‘ठोस रूपमा कमजोर’ ठानेमा नयाँ कानूनले सरकारलाई अस्थायीरूपमा ती विदेशी मिडियाका कार्यालयहरू बन्द गर्न, उपकरण जफत गर्न, इजरायली केबल र स्याटेलाइट टेलिभिजन प्रदायकबाट हटाउन र कुनै पनि पहुँच रोक्ने अधिकार दिने बताएका छन् ।

इजरायलको यो निर्णयलाई आफूलाई चुप बनाउने योजनाबद्ध श्रृंखलाको पछिल्लो कडी भएको बताएको छ । अल जजिराले यो कानुनको भत्र्सना गरेको छ । अल जजिराले नेतन्याहुको आरोपलाई ‘झुट’ भन्दै निन्दा गरेको छ । साथै, त्यसले आफ्ना विश्वभरिका पत्रकारको सुरक्षा खतरा उक्साउने भनेको छ । साथै, अल जजिराले आफ्नो ‘निडर र व्यवसायिक’ पत्रकारितालाई नरोक्ने दृढता समेत व्यक्त गरेको छ ।

अल जजिराको अरबी भाषाको च्यानल मध्यपूर्वको सबैभन्दा लोकप्रिय समाचार माध्यम हो । इजरायलले भने यसलाई आतंककारीको मुखपत्र भन्ने आरोप लगाउँदै आएको छ ।

कतारमा आधारित अल जजिराले आफूलाई आंशिक रूपमा सरकारी लगानी भएको स्वतन्त्र संस्था भन्ने गरेको छ । तर, इजरायल, साउदी अरबिया, संयुक्त अरब इमिरेट्स लगायतका देशले तानाशाही शासन भएको कतारले सरकारी प्रभाव फैलाउन खोलिएको संचारमाध्यम भएको आरोप लगाउँदै आएका छन् । (एजेन्सीबाट)

प्रतिक्रिया