नाउपा विवाद : रेशम भन्छन्- तीन महिनादेखि राम्रोसँग खानासमेत खाएको छैन
अखबार टुडे
प्रकाशित:
२०८०, १९ चैत्र

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आन्तरिक विवाद सतहमा मात्र होइन, चरम उत्कर्षमा पुगेको छ । पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको मतभेद हात हालाहालसम्म पुगेको छ । रेशम र रञ्जिताको पक्षबीच बैठकमै कुटाकुटसम्म स्थितिमा पुगेको हो ।

सोमबार पार्टीको बैठकका क्रममा हातपात भएको थियो । तर, संरक्षक रेशम चौधरीले त्यस्तो केही नभएको दाबी गरेका छन् । पार्टीका संस्थापक सदस्य र महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यबिचमा को आधिकारिक भन्नेबारे सामान्य विवाद भएको उनको भनाइ छ ।

बैठकमा रञ्जिता पक्षका केही व्यक्तिले आफूहरूलाई ज्यान मार्ने धम्की दिएर गएको समेत उनले आरोप लगाए । आफ्नो पार्टीलाई अरुले चलाएका कारण यी सब समस्या आएको उनको दाबी छ ।

सोमबार भएको घटनापछि पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकारले नागरिक उन्मुक्ति पार्टी चलाएको समेत आरोप लगाए । उनले भने, ‘आफूले रोपेको बिरुवा अरुले काटेको टुलुटुलु हेर्न सक्दिनँ । बिरुवा मैले रोपेको हुँ, कुन बिरुवा कुन जातको हो, त्यो मलाई थाहा छ तर अरुले आएर त्यो काटिरहेका छन् । त्यो टुलुटुलु हेरेर बस्न सक्दिनँ ।’

नेता चौधरीले आफूले तीन महिनादेखि राम्रोसँग खाना पनि नखाएको बताए । ‘कहिले एक चम्चा खान्छु, कहिले दुई चम्चा खान्छु । कहिले के खान्छु,’ उनले भने, ‘आत्महत्यासम्मको परस्थितिमा पुर्याइसके, तैपनि मान्दैनन् । अनि के गर्ने ? घरको मान्छेले नमान्दा झन् पीडा हुन्छ ।’

चैत २३ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकले सबै कुराको छिनोफानो गर्ने चौधरीले बताए । उनले भने, ‘पदलोलुपता धेरै भयो । अर्को बैठकबाट गलत गर्नेलाई कारबाही हुन्छ ।’ संरक्षक चौधरीले पार्टीमा गलत काम गर्नेमाथि कारबाही गरेर पार्टीलाई शुद्धीकरण गर्ने दावी गरे ।

चैत २३–२४ गते बस्ने केन्द्रीय समितिको बैठकले सरकारको बारेमा निर्णय गर्ने बताउँदै त्यतिबेलासम्म सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीको सहभागिता यथावत् रहने उनले प्रस्ट पारे ।

रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारमा जानु हुँदैन भनेपछि रेशमले केन्द्रीय सरकारमा पनि जानु हुँदैन भनेका थिए । तर, पार्टीका संस्थापक नेताहरू सम्मिलित समिति कि महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिलाई मान्यता दिने भन्नेबारे दुवैबिच विवाद भएपछि त्यो सहमति भाँडिएको थियो ।

सहमतिपत्रलाई रञ्जिता पक्षधरका नेताले च्यातेर हिँडेका थिए । रेशम चौधरीले महाधिवेशनबाट बनेको केन्द्रीय समितिलाई मान्यता दिनुपर्छ भन्दै आएका छन् भने अध्यक्ष रञ्जिताले पार्टी स्थापनाको बेला गठन भएको केन्द्रीय समितिलाई मान्यता दिनुपर्ने अडान लिँदै आएकी छन् ।
सोमबार पार्टी कार्यालयमा महाधिवेशनबाट निर्वाचित केही केन्द्रीय सदस्य र पदाधिकारी समेत आएका थिए । संस्थापक केन्द्रीय सदस्यहरूले उनीहरूलाई बैठकमा किन आएको भन्दै निकाल्न खोजेका थिए ।

प्रतिक्रिया