याक्थुङ कुरुम्बाङ सङजुम्भो कप : पुरुष फुटबलतर्फ सम्दु एफसीले जित्यो उपाधि
अखबार टुडे
प्रकाशित:
२०८०, १६ चैत्र

काठमाडौं । याक्थुङ कुरुम्बाङ सङजुम्भो जिल्ला कार्यसमिति र फेदाप कार्यसमितिद्वारा आयोजित ऐतिहासिक आहालेबजार मेला-२०८० अन्तर्गत ‘याक्थुङ कुरुम्बाङ सङजुम्भो कप’ खुल्ला पुरूष फुटबलको उपाधी सम्दु एफसीले जितेको छ ।

बिहीबार सम्पन्न फाइनल खेलमा थ्री स्टार जलजलेलाई १-३ गोलको अन्तरले पराजित गरेको हो । सम्दुले उपाधीसँगै ५० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता थ्री स्टारले नगद ३० हजारसहित मेडल र प्रमाणपत्र पाएको छ ।

फेदाप–१ को सिम्ले पिपल डाँडास्थित हालै निर्माण गरिएको याक्थुङ कुरुम्बाङ सङजुम्भो खेल मैदानमा भएको खेलमा खुल्ला महिला फुटबलतर्फ आयोजक याक्थुङ कुरुम्बाङ सङ्जुम्भो टिमले उपाधि जितेको छ । फाइनलमा मुनाल जलजलेलाई ट्राइवेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधी जितेको हो ।

निर्धारित समयमा गोल हुन नसकेपछि ट्राइवेकरमार्फत नतिजा निकालिएको हो । याक्थुङ कुरूम्बाङ सङजुम्भो टिमले उपाधीसँगै ३० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता मुनालले १५ हजार नगदसहित मेडल र प्रमाणपत्र पाएको छ ।

मेलामा खुल्ला पुरुष तथा महिला फुटबलका साथै वृहत साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । साथै, मेलामा खुल्ला नृत्य प्रतियोगिता, आमन्त्रित च्याब्रुङ नाच, धान नाच, हाक्पारे साम्लो र खुल्ला छेलो प्रतियोगिता सञ्चालन गरिएको थियो ।

राष्ट्रिय खेलाडी अनितालाई सम्मान

मेला समापनको दिन याक्थुङ कुरुम्बाङ सङजुम्भो जिल्ला कार्य समिति र फेदाप कार्यसमितिले नेपाली महिला राष्ट्रिय फुटबलकी खेलाडी अनिता बस्नेतलाई सम्मान गरिएको थियो ।

एपीएफमा आवद्ध अनिताले हालै साउदी अरबियामा सम्पन्न पश्चिम एसियाली फुटबल महासंघ ‘वाफ महिला च्याम्पियनसिप’मा सिरियाविरुद्ध खेलमा दुर्लभ गोल गरेर विश्वमा चर्चा कमाएकी थिइन् ।

साउदी अरेबियाको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्भ स्टेडियममा गत फागुन ८ गते सिरियाविरुद्धको खेलको १३औँ मिनेटमा नेपालले कर्नर किकको मौका पाएको थियो ।

‘डेथ बल स्पेशलिस्ट’ अनिता बस्नेतले हानेको कर्नर बल अविश्वसनीय रूपमा सीधै गोलमा परिणत हुन पुगेको थियो । जुन गोल नेपाली फुटबलमा नयाँ इतिहास बनेको छ । विश्व फुटबलमा निकै कम हुने यस्तो गोललाई ‘ओलिम्पिको गोल’ नामकरण गरिएको छ । -तस्बिर सौजन्य : रेडियो आठराई

प्रतिक्रिया