समर्थन फिर्ता लिएर सुदूरपश्चिम सरकारबाट बाहिरिन अध्यक्ष रञ्जिताको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०८०, १६ चैत्र

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिन संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् ।

शुक्रबार संसदीय दलका नेता घनश्याम चौधरीलाई श्रेष्ठले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन निर्देशन दिएकी हुन् । पार्टी कार्यालय टीकापुरमा चैत १४ गते बसेको बैठकको निर्णयअनुसार संसदीय दलका नेता चौधरी सरकारबाट नबाहिरिए पार्टीको विधानअनुसार कारबाही गरिनेसमेत उनले चेतावनी दिएकी छन् ।

कांग्रेस नेतृत्वको अल्पमत परेको सरकारमा नागरिक उन्मुक्ति पार्टीका पाँच सांसद मन्त्री छन् । यसअघि पनि अध्यक्ष रन्जिताले सरकारमा सहभागी पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाएकी थिइन् । तर, पार्टीका संरक्षक रेशम चौधरीको अडानले अध्यक्ष रन्जिताको निर्देशनको बेवास्ता गर्दै सरकारमै बसिरहेका छन् ।

सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने र नगर्ने भन्ने सन्दर्भमा नाउपामा विवाद हुँदै आएको छ । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै नाउपाको आन्तरिक विवाद बाहिरिएको थियो । अध्यक्ष रन्जिता नयाँ गठबन्धनलाई समर्थन गर्ने पक्षमा रहेकी छन् । तर, रेशम चौधरी पुरानै गठबन्धनको पक्षमा रहेका छन् ।

प्रतिक्रिया