इलाम-२ मा रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार
अखबार टुडे
प्रकाशित:
२०८०, १५ चैत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै मिलन लिम्बू सर्वसम्मत उम्मेदवार बनेका हुन् ।

यसअघि नै मिलन लिम्बू स्वतन्त्र उम्मेदवारी दिने भनेर चुनाव प्रचारमा जुटिसकेका थिए । बुधबार लिम्बूलाई समावेश गरेर ६ जनाको नाम सार्वजनिक गरेको रास्वपाले बिहीबार उनलाई उम्मेदवार बनाएको हो । बिहीबार भएको छलफलमा सबैले लिम्बूलाई समर्थन गर्ने प्रतिवद्धता जनाएका छन् ।

पत्रकारितामा दुई दशकभन्दा बढी बिताएका मिलन लिम्बूले संघीयता र पहिचानको मुद्दामा रास्वपाले प्रतिवद्धता जनाएपछि आफूले उक्त पार्टीबाट उम्मेदवार बन्ने निर्णय गरेको बताए ।

रास्वपाको आधिकारिक उम्मेदवार बनेपछि उनले संघीयता र पहिचानको विषयलाई लिएर रास्वपामाथि प्रश्न उठेको विषय आफूले उठाएको बताउँदै भनेका छन््, ‘संघीयता र पहिचानको विचार पार्टीमा राखेँ । पहिचान र संघीयता विरोधी होइन भनी नेतृत्वले भन्नुभएको छ । प्रदेशसभाको संख्या र अधिकार नदिएकामा हाम्रोे विमति हो भन्नुभएको छ । त्यस आधारमा हाम्रो सहकार्य भएको हो ।’

रास्वपा नेतृत्वले आफूसँगको कुराकानीमा पहिचानको सन्दर्भमा अस्तित्व स्वीकार्ने विषयमा आफूहरुको विरोध नभएको भनी विश्वास दिलाएको पनि मिलन लिम्बुले बताएका छन् । पत्रकारिता क्षेत्रमा पनि मिलन लिम्बू पहिचावादीका रुपमा चिनिन्थे । र, पत्रकारितामार्फत पनि उनले पहिचानका आवाज उठाउँदै आएका थिए ।

प्रतिक्रिया