इलाम-२ मा रास्वपाको प्राइमरी इलेक्शन : मिलन लिम्बूसहित ६ जनाको उम्मेदवारी
अखबार टुडे
प्रकाशित:
२०८०, १४ चैत्र

काठमाडौं । इलाम–२ को निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ६ जनाको उम्मेदवारी परेको छ । प्राइमरी इलेक्सनमा मिलन लिम्बू, गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे र डा. शेषरमण न्यौपानेको उम्मेदवारी परेको हो ।

पार्टीका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले प्रारम्भिक उम्मेदवारको सूची सार्वजनिक गरेका हुन् । यी उम्मेदवारबीचमा प्रारम्भिक मतदान हुने र एक जनालाई उम्मेदवार बनाउने रास्वपाले जनाएको छ ।

मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको तयारी रहेको एक नेताले बताए । यसका लागि पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेसहितका नेता शुक्रबार इलाम जाँदैछन् ।

पत्रकारिता पृष्ठभूमिका मिलन लिम्बूले हालैमात्र माओवादी केन्द्र त्यागेका हुन् । माओवादी केन्द्रसँगको आबद्धता त्याग्दै स्वतन्त्र उम्मेदवार घोषणा गरेका मिलनसँग संवाद भएको र पार्टीले उम्मेदवार बनाउने तयारी गरेको रास्वपाका एक नेताले बताए ।
रास्वपाले इलाम–२ को अवस्था र पार्टीको स्थिति बुझ्न ६ जना सांसदलाई ६ पालिकामा पठाएको थियो । रास्वपाका ६ जना सांसदहरू चैत १९ गते इलामका विभिन्न पालिका पुगेर अन्र्तक्रिया गरेका थिए ।

सोबिता गौतम इलाम नगरपालिका पुगेकी थिइन् । गणेश पराजुली देउमाई नगरपालिका पुगेका थिए भने मनिष झा माई नगरपालिका पुगेर अन्तरक्रिया गरेका थिए ।

यस्तै, सांसद अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिका पुगेका थिए । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमान्डरका रूपमा इलाममै खटिएका छन् ।

आगामी बैशाख १५ गते इलाम–२ मा संघीय संसदको प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया