सुहाङ भन्छन्- इलामेली जनताको भरोसा र विश्वासले राजनीतिलाई पछ्याएको हुँ
अखबार टुडे
प्रकाशित:
२०८०, १२ चैत्र

काठमाडौं । बैशाख १५ मा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट इलाम–२ का उम्मेदवार सुहाङ नेम्वाङले आफ्ना बुवा सुवास नेम्वाङप्रति इलामेली जनताको आशा, भरोसा र विश्वासका कारण आफूले पनि राजनीतिलाई पछ्याएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा स्टाटस शेयर गर्दै सुहाङले आफूलाई उम्मेदवार बनाउन सहयोग गर्नेप्रति आभार व्यक्तसमेत व्यक्त गरेका छन् । इलामेली जनताले देखाएको माया, सद्भाव र शुभेच्छाले अन्त जाने अनुमति नदिएको उनको भनाइ छ ।

सुहाङले भनेका छन्, ‘हो, बुवालाई राजनीतिमा साथ दिँदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय थिएँ । यसो भनौं, ‘आफ्नो बाटो आफै खन्दै थिएँ । मेरा लागि जनसेवाका अनेकन् सजिला र फराकिला बाटाहरू स्वागतको लागि तयार थिएँ । तर, निर्वाचनका क्रममा देखेको बुवाप्रतिको इलामेली जनताहरूको आशा, भरोसा र विश्वासले मलाई पक्रिरह्यो । बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो ।’

उनले आदरणीय इलामेली जनताहरूले देखाएको माया, सद्भाव र शुभेच्छाले अरूतिर जाने अनुमति नदिएको बताएका छन् । र, भनिरह्यो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है ।’ उनले आफू उम्मेदवार बन्दै गर्दा पार्टीको विकास, विस्तार र आन्दोलनमा लागेका नेताहरूको भावनालाई शिरमा राख्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

उनले अझै केही वर्ष ‘लो प्रोफाइल’मा बसेर बुवाकै साथमा रहेर सिक्ने, बुझ्ने रहर भए पनि अकल्पनीय आकस्मिकता आइलागेको स्मरण गर्दै भनेका छन्, ‘इलामेली वृद्ध बुवा आमाहरुले, नौजवान साथीहरूले र कलिला नानीहरूले देखेका सपनाहरू पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’ सुहाङलाई आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले इलाम २ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया