जनसरोकारको विषयमा केन्द्रित भएर अघि बढ्न सरकारलाई एमालेको सुझाव
अखबार टुडे
प्रकाशित:
२०८०, ११ चैत्र

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव दिएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नयाँ सत्ता समिकरण बनेपछि जनतामा आशाको सञ्चार गराएको निष्कर्ष निकाल्दै जनसरोकारको विषयमा अझ बढी केन्द्रित भएर अघि बढ्न सरकारलाई सुझाव दिएको हो ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘यो बैठकमा हामीले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरेका छौं । नयाँ राजनीतिक सहयात्रा प्रारम्भ भइसकेपछि मुलुकमा केही मात्रामा आशाका सञ्चार भएको छ । हाम्रो पार्टी यो सरकारलाई र सरकारको कार्य सम्पादनलाई प्रभावकारी बनाउँदै समाजमा रहेको निराशा चिर्दै अवरुद्ध भएको विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गति दिने र देशको राष्ट्रिय हितको रक्षा र सम्वद्र्धनमा केन्द्रित भएर लाग्ने पार्टीले ठोस संकल्प गरेको छ ।’

उनले सरकारले पनि त्यही हिसाबले आफ्ना कामहरुलाई अझ बढी चुस्त, अझ बढी समस्या केन्द्रित र जनतामा आशा र भरोसा जगाउने गरी अगाडि बढोस् भनेर शुभकामना दिएको बताए ।

त्यसैगरी रुसको मस्कोमा कन्सर्टमा १३० जनाको ज्यान जाने गरी भएको आतंककारी हमलाको एमालेले विरोध गरेको छ ।

उनलेभने, ‘यसबाहेक बैठकले अस्ती मात्रै मस्को बाहिरको एउटा कन्सर्टमा भएको आतंककारी हमला, जसमा १३० जनाभन्दा बढी निर्दोष नागरिकहरुको ज्यान गएको छ । त्यसको निन्दा र भत्सर्ना गरेको छ । हाम्रो पार्टी सबै खालका आतंकवादी क्रियाकलापहरु, जुनसुकै आवरण, जुनसुकै नाम वा जुनसुकै रुपमा भएका आतंकवादी हमलाको विरोधमा सदैव उभिदै आएको छ । र, हामीले त्यसको निन्दा र भत्सर्ना गरेका छौं ।’

प्रतिक्रिया