राप्रपा अध्यक्ष लिङ्देन भन्छन्- मौका मिलेको अवस्थामा राज्य प्रणाली नै परिवर्तन गछौँ
अखबार टुडे
प्रकाशित:
२०८०, ९ चैत्र

राजविराज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मौका मिलेको अवस्थामा राज्य प्रणाली र संविधान नै परिवर्तन गर्ने बताएका छन् । शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले संविधानमा राप्रपाको मान्यताहरू उल्लेख नभएको भन्दै यस्तो बताएका हुन् ।


आगामी चैत २७ गते राजधानी केन्द्रित प्रदर्शन र आन्दोलनको तयारीस्वरूप मधेश भ्रमणका क्रममा रहेका अध्यक्ष लिङ्देनले भने, ‘संविधानमा हाम्रा मान्यताहरू उल्लेख नभएकाले मान्दैनौं, स्वीकार्दैनौं । मौका मिलेको अवस्थामा राज्य प्रणाली र संविधान नै परिवर्तन गछौं ।’

उनले देशले पुनः विद्रोहको बाटो व्यहोर्नु नसक्ने भएकाले मात्र संविधानसँग सहकार्य गरी आफ्नो मान्यता स्थापित गर्न लागिरहेको जिकिर गरे ।


संघीयतालाई संस्थागत गर्न अग्रणी योगदान गरेको मधेसले गणतन्त्रबाट उपलब्धि नपाएको बरु संघीयताका कारण प्रताडित बनेको टिप्पणी गर्दै अध्यक्ष लिङ्देनले भने, ‘हिन्दुत्वको भावना बलियो रहेको मधेशले अहिले धर्मनिरपेक्षता घोषणाका कारण हिन्दुत्वमा संकट पैदा भएको बुझ्न थालेको छ ।’

मिटरव्याज, सहकारी, लघुबित्त, बैंक र बित्तिय संस्थाबाट मधेश पीडित रहेको र भ्रष्टाचार, बेरोजगारी बढेको उनको विश्लेषण थियो । गठबन्धनलाई स्वार्थको गठजोड बताएका लिङ्देनले सत्तालाई स्वार्थअनुकूल रक्षकवचका रूपमा प्रयोग गर्ने प्रधानमन्त्री नै अस्थिरतातर्फ गएपछि राप्रपा सत्तामा सामेल नभएको बताए ।


सरकार प्राथमिकताको विषय नरहेको तर प्रदेश सरकार गठनमा गणितिय हिसाबले राप्रपाको अनिवार्यता देखिए छलफल गर्न सकिने उनको भनाइ छ । त्यस्का लागि कतैबाट औपचारिक प्रस्ताव भने नआएको उनले बताए । सहकारी ठगी मामिलामा नाम जोडेर गृहमन्त्री रवि लामिछानेको राजीनामा माग भइरहेको सन्दर्भमा उनले भने, ‘जिम्मेवारीमा बसेकामाथि लिखित वा अलिखित प्रश्न उठेपछि जवाफ दिनुपर्छ र सफाइ पेश गर्नुपर्छ ।’

उनले राजनीति र राजनीतिक नेतृत्वप्रति जनतामा वितृष्णा बढेको भन्दै छवि सुधार गर्ने जिम्मा पनि राजनीतिक दलहरूकै भएको बताए । आफूहरूले राष्ट्रियता, सुशासन, विकास र सेवाप्रवाहलाई केन्द्रमा राखेर काम गर्न चाहेको बताउँदै भने, ‘मौका पाएमा भ्रष्टाचारीमाथि डोजर चलाउने छौं ।’

प्रतिक्रिया