गृह मन्त्रालयले सच्चायो सीडीओलाई मिडियाको निगरानी गर्न दिएको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०८०, ८ चैत्र

काठमाडौं । गृह मन्त्रालयले आमसञ्चारमाध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र सच्याएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ)हरुलाई बिहीबार दिउँसो पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चारमाध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख थियो ।

तर, उक्त परिपत्र सार्वजनिक भएसँगै विरोध सुरु भएपछि बिहीबार साँझ नै गृह मन्त्रालयले अर्को विज्ञप्ति जारी गरी सञ्चारमाध्यमको निगरानी र कारबाही गर्ने विषय परिपत्रमा समावेश नभएको स्पष्टीकरण दिएको हो ।

गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८० चैत ६ गते मन्त्रालयबाट यससम्बन्धी परिपत्र नभएको र सञ्चारमाध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका उक्त बुँदाहरु हटाई अन्य विषयहरु मात्र समावेश गरी मिति २०८० चैत ८ गते परिपत्र गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताप्रति सदैव सचेत र यसको पूर्ण पालनाका लागि प्रतिवद्ध रहेको पनि गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया