
काठमाडौं । नेपाली कांग्रेसका सांसदसमेत रहेका उद्योगपछि विनोद चौधरीले बिहीबार बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएका छन् । सो क्रममा चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’को संज्ञा दिए ।
बयान दिएर निक्किनेक्रममा उनले ‘स्टन्ट गर्ने’हरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनुनपर्ने बताए । उद्योगपति चौधरीले भने, ‘देशको अर्थतन्त्र अहिले अत्यन्त कठिन परिस्थितिबाट गुज्रिएरहेको बेला मजत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि विश्वभरि रहेका नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले कुन सन्देश मनमा लिएर जान्छन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । ४५ वर्षको यात्रापछि मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरुलाई ।’
उनले आफूमाथि अनुसन्धानका बारेमा संसदलाई जानकारी गराएको पत्र जुनरुपले सञ्चारमाध्यम रंगियो, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको भन्ने प्रष्ट भएको बताए ।
‘मैले यो विषयमा प्रश्न उठ्नेवित्तिकै दलको बैठकमा आफ्नो संक्षिप्त कुरा राखेँ । त्यसपछि ममाथिको अनुसन्धानको कुरा चल्नेवित्तिकै संसदको रोस्टममा उभिएर निर्वाचित सांसदका हैसियतले आफ्ना कुरा राखेँ’ उनले भने, ‘मलाई आज यहाँ आउन मौखिक जानकारी गराइयो । म एउटा जिम्मेवार राजनीतिकर्मीको हिसाबबाट सहयोग गर्न उपस्थित भएको हुँ ।’
उनले आफूले ४२ वर्षअगाडि बाँसवारीजस्तो अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक–प्राइभेट पार्टनरसीपको उत्कृष्ट स्वरुपका रुपमा खडा गरिएको बताउँँदै भने, ‘तर, नविनतम सोचलाई राजनीतिकरण गरियो, यो अत्यन्त दुखलाग्दो छ ।’
उनले हजारौं रोपानीको निजी औद्योगिक ग्राम स्थापना गर्ने गु्रपले मुलुकभरि नै १४० वर्षदेखि र अझै व्यवस्थित रुपले ८० वर्षदेखि विभिन्न परियोजना रहेको बताउँदै १० रोपनी जग्गाको बारेमा कुनै प्रकारको कुदृष्टि राख्छ भन्ने सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही नभएको बताए ।
चौधरीले भने, ‘आज यो इस्यूमा उद्यमी र उद्यममाथि, लगानीकर्ता र करदातालाई राजनीतिकरण गर्न खोजेको प्रष्टसँग देखियो । म फेरि पनि यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानीकर्तालाई विसुद्ध राखिनुपर्छ भन्न चाहन्छु । राजनीतिका आफ्ना फोरम छन् । म पनि नवलपरासीबाट प्रत्यक्ष निर्वाचित संसद हुँ । तर दुई चिजलाई जोड्ने काम मैले गरेको छैन र भोलि पनि गर्ने छैन ।’
