आज पनि देशका अधिकांश भू-भागमा वर्षा, मौसममा सुधार आउन तीन लाग्ने
अखबार टुडे
प्रकाशित:
२०८०, ८ चैत्र

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा साधरणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।

कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना महाशाखाले जनाएको छ ।

यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार भोलि शुक्रबार पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । उनले आगामी तीन दिनसम्म उल्लेख्य रूपमा मौसममा सुधार हुने नदेखिने बताए । तीन दिनपछि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ ।

महाशाखाको विवरणअनुसार बुधबार काठमाडौँमा नौ दशमलव आठ मिलिमिटर वर्षा भएको थियो । सबैभन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

यस्तै सिमरा र ओखलढुङ्गामा समान १० मिलिमिटर तथा ताप्लेजुङमा आठ दशमलव पाँच, धनकुटा र जनकपुरमा पनि समान पाँच मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया