प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- कसरी चल्छ सत्ता ?
अखबार टुडे
प्रकाशित:
२०८०, ७ चैत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोस्टममा उभिएर चित्तबुझ्दो जबाफ नदिएको भन्दै असन्तुष्टि जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेलाई जोगाउने प्रयत्नले बोलेका थिए । उनले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान गर्नै नपर्ने प्रहरीको ब्रिफिङ रहेको बताएका थिए ।
प्रधानमन्त्रीले ‘लामिछानेमाथि अनुसन्धान गर्न प्रमाण छैन’ भनेको र आफूहरूले प्रमाण छ भनेकाले यसको छिनोफानोका लागि संसदीय छानबिन समिति गठन गर्न कांग्रेसले माग गरेको छ ।


बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद ईश्वरी न्यौपानेले लामिछानेमाथि छानविन गर्नुपर्ने बताएका हुन् ।
बुधबार प्रतिनिधिसभाको बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले बोल्न न्यौपानेलाई समय दिएका थिए ।

सहकारी प्रकरणमा लामिछानेमाथि अनुसन्धान हुनुपर्ने उनले बताइन् । अनधिकृत रूपमा सहकारीबाट पैसा लिइएका मानिसलाई कारबाही गरिनुपर्ने उनको भनाइ थियो ।

\उनले भनिन्, ‘प्रमाण छैन भन्ने प्रधानमन्त्रीज्यू र प्रमाण छ भन्ने हामी प्रतिपक्ष । यसका लागि कसले छिनोफानो गर्ने । सभामुख महोदय तपाईं सदनको नेता हो । आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन सत्तापक्षलाई यो सदन चाहिएको रहेनछ, जनताको काम चाहिएको रहेनछ भन्ने बुझ्छौं ।’

सहकारी प्रकरणमा दिपेश पुन पक्राउ पर्ने तर गृहमन्त्रीले भने प्रतिपक्षीलाई चार वर्ष अवरोध गरोस् भन्ने चुनौती दिइरहेको उनले बताइन् ।
उनले भनिन्, ‘जवाफ दिने क्रममा प्रधानमन्त्रीले संसदभित्र र जवाफ दिनु अगाडि संसद बाहिर जसरी बोल्नुभयो, जसरी प्रस्तुत हुनुभयो । पेट काटेर चार–चार पैसा गरेर जम्मा गरेका, तपाई स्वयंलाई प्रत्यक्ष भेटेर पीडा पोखेका पीडितप्रतिको बेइमानी र घात होइन ? राज्यको कानूनप्रतिको खेलवाड होइन यो ?’

उनले प्रधानमन्त्रीलाई छातीमा हात राखेर रवि लामिछानेबारे सत्यतथ्य बोल्न आग्रह गरिन् । ‘आफैँले आफैलाई सोध्नुस् त प्रधानमन्त्रीज्यू । प्रधानमन्त्रीले बोल्नुभयो हिजो केही प्रमाण छैन । केही हिनामिना छैन’ उनले भनिन्, ‘उही केसमा दिपेश पुन पक्राउ पर्ने, अरु पक्राउ पर्ने ऊ नपर्ने ? उहाँले गृहमन्त्रीको पद खाइराख्नुपर्ने, हामीले हेरिराख्नु पर्ने ? अझ गैरजिम्मेवार कुरा बाहिर गएर बोल्नुभयो उपप्रधानमन्त्रीले, प्रतिपक्षलाई च्यालेन्ज गर्दै चार वर्ष सदन अवरुद्ध गरोस्, हामी सत्ता हाँकिरहन्छौँ । कसरी चल्छ सत्ता ?’

नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानविन गर्न माग गर्दै लगातार संसद अवरुद्ध गर्दै आएको छ । कांग्रेस आफ्नो अडानबाट पछि हटेको छैन । कांग्रेसको माग छ, ‘सहरकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री लामिछानेले राजीनाम दिनुपर्छ ।’

प्रतिक्रिया