दुर्गा प्रसाइँका बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
अखबार टुडे
प्रकाशित:
२०८०, ६ चैत्र

काठमाडौं । सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुईजना बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले मंगलबार दुईजना बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

सोमबार सर्वोच्चमा हतियार बोकेर जान खोजेका प्रसाईंका बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमालमाथि प्रहरीले हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ मा अनुसन्धानका लागि हिरासतमा राख्न सकिने अवधि र तत्सम्बन्धी कार्यविधि उल्लेख छ । उक्त दफाअनुसार पक्राउ परेका खड्का र धिमाललाई मंगलबार अदालत उपस्थित गराइएको थियो ।
उनीहरू सोमबार बिहान पौने ११ बजे प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्न खोजेका थिए ।

सर्वोच्च अदालतको मूलगेटमा रहेका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोलीले जाँच गर्ने क्रममा उनीहरूबाट बन्दुक बरामद भएको थियो ।

‘ठूले स्वीडेन’ लेखिएको कालो रङको झोलाभित्र स्वचालित हतियार एउटा, सानो दुइटा म्यागजिन, दुइटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउन्ड गोली पनि बरामद भएको छ । प्रहरीका अनुसार बरामद भएको हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त भएको हो ।

इजाजत प्राप्त नै भएपनि सर्वोच्च अदालत जस्तो संवेदनशील ठाउँमा हतियार लग्न पाउने÷नपाउने भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया