महरालाई प्रचण्डको प्रश्न- राजीनामा दिनुहुन्छ कि निलम्बन गरौँ ?
अखबार टुडे
प्रकाशित:
२०८०, ६ चैत्र

काठमाडौं । सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा माओवादीले निष्कर्षमा पुग्न सकेन । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकमा यसबारे छलफल भएको थियो । तर, बैठक निष्कर्षविहीन सकिएको छ ।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले छिट्टै अर्को बैठक बसेर निर्णयमा पुग्ने बताए । ‘हरेक पाटा पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौं, छलफल जारी छ’ उनले भने, ‘छिटोभन्दा छिटो निष्कर्षमा पुग्छौँ ।’

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले महालाई बैठक स्थलबाटै फोन गरेर सोधेका थिए, ‘राजीनामा दिनु हुन्छ कि निलम्बन गरौँ ।’ जवाफमा महराले केही समयपछि निर्णय गर्ने बताएका थिए । महराको उक्त जवाफ पर्खनका लागि पनि बैठक विना निष्कर्ष टुंग्याइएको ती पदाधिकारीको भनाइ छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेपछि पूर्वसभामुखसमेत रहेका महरालाई निलम्बन गर्नुपर्ने पार्टीभित्र माग उठिरहेको छ ।

सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई सोामबार नै काठमाडौं ल्याइएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को नियन्त्रणमा रहेका उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद दिएको छ । तर, महरा विमारी भएकाले थापाथलीस्थित नर्भिक अस्पतालमा आराम गरिरहेका छन् ।

प्रतिक्रिया