महरालाई चार दिन थुनामा राख्न सीआइबीलाई अनुमति
अखबार टुडे
प्रकाशित:
२०८०, ५ चैत्र

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिराशतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश दुर्गाप्रसाद खनालको इजालसले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुमति दिएको हो ।

पूर्वसभामुखसमेत रहेका महरालाई सोमबार बिहान नै प्रहरीले रुपन्देहीबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले सोमबार बिहान उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका उनलाई भैरहवाबाट पक्राउ गरिएको थियो । अवैध सुन तस्करी छानविन आयोगको प्रतिवेदन अध्ययनपछि आइतबारमात्रै गृहमन्त्री रवि लामिछानेले महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए ।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका थिए ।

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सोही मुद्दामा अहिले थुनामा छन् ।

प्रतिक्रिया