उपनिर्वाचन इलाम-२ : मिलन लिम्बूको उम्मेदवारी घोषणा
अखबार टुडे
प्रकाशित:
२०८०, ४ चैत्र

काठमाडौं । अनामनगरस्थित युनियन हाउसमा आइतबार मिलन लिम्बूले आफ्नो उम्मेदवारी घोषणा कार्यक्रम राखेका थिए । राजनीतिक पृष्ठभूमि र पत्रकारिता त्यागेर आगामी बैशाख १५ गते हुन गइरहेको इलाम-२ को उपनिर्वाचनमा मिलन लिम्बूको स्वतन्त्र उम्मेदवारी घोषणा कार्यक्रममा पुगेका सञ्चारकर्मी केहीबेर ब्यानरमा अडिए । ब्यानरमा लेखिएको थियो, ‘अकबरे उम्मेदवार मिलन लिम्बू, इलाम-२ उपनिर्वाचन’ ।

‘अकबरे उम्मेदवार’ किन ? सुरुमा धेरैलाई कौतुहलता भयो । तर, कोतुहलता धेरै समय टिकेन । इलाम-२ का स्वतन्त्र उम्मेदवार मिलन लिम्बूले भने, ‘म इलामको माटो र जनताको तर्फबाट उम्मेदवार घोषणा गरेको हुँ । उम्मेदवारीसँगै इलामको कृषि उत्पादनलाई पनि प्रमोशन गरौँ भनेर अकबरे उम्मेदवार राखेको हुँ । यो अकबरेको ठाउँमा अलैची, अम्लिसो, अदुवा पनि हुनसक्छ ।’

अकबरे खुर्सानीमात्र नभएर इलाम अलैंची, अदुवा, अम्लिसोलगायत आठ ‘अ’ले चर्चित छ । तैपनि प्रचार र ब्राण्डिङको अभावले चर्चामै सिमित हुँदै आएको छ । त्यसैले पनि मिलन लिम्बूले इलामको अकबरे, अलैंचीजस्ता कृषि उत्पादनलाई आफ्नो चुनावी नारामै समेटेका हुन् ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी घोषणा गर्दै मिलनले भने, ‘म राजनीति दलहरु जस्ता ढाँट, छल गर्न होइन, काम गरेरै देखाउन र इलामको विकासका लागि मेरो उम्मेदवारी हो । मेरो प्रचार पोष्टरमा अकबरे लेख्नुको कारण यो हो कि यसअघिका नेताहरुले इलामको भौतिक विकासको पूर्वाधारमा त आँखा पु¥याएनन् नै, साथै इलामको स्थानीय उत्पादन र कृषकलाई वास्तै गरेनन् । त्यसैले इलामको चर्चित उत्पादनमध्ये अकबरेबाट प्रचार सुरु गरेको हुँ ।’

मिलन लिम्बूको यो स्लोगनले पत्रकारलाई त चित्त बुझ्यो नै, इलामेलीलाई पनि आर्कर्षित पक्कै गर्नेछ । पर्यटनका लागि समेत पूर्वको एक नम्बर जिल्लाको इलाम । तर, हालसम्म त्यहाँको नेतृत्व गर्ने अवसर पाएर पनि इलामेली जनता र विजुली, पानी जस्ता भौतिक पूर्वाधार र कृषिलाई वेवास्ता गर्दा चिया उत्पादनका लागि चर्चित इलाम सोचेजस्तो छैन । त्यसैले मिलन लिम्बू जस्ता युवा उम्मेदवार उदय भएको हो । यो इलाम–२ का मतदाता एवं जनताले बुझ्न आवश्यक छ ।

उपनिर्वाचनको मिति घोषणा भएसँगै चुनावी सरगर्मी सुरु भइसकेको छ । तर, उम्मेदवारी घोषणा गर्ने भने मिलन पहिलो हुन् । उनले उम्मेदवारी घोषणा गर्नेक्रममा राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध भएको पनि बताए ।

‘राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध लडिरहनेछु’ उनले भने, ‘यो उपनिर्वाचनमा मात्रै नभएर म इलामका नागरिकको सेवक बनेर जीवनभर सुख–दुःखमा सँगै उभिने वाचा गर्दछु ।’

उनले आफूलाई इलामेली जनताले जिताउने दाबी गरे । उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम–२ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन् । म इलामको माटोको कसम खाएर भन्छु, अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्नेछु ।’

विकास र समृद्धिको आशामा राजनीतिक दलका उम्मेदवारलाई बारम्बार जिताएर पठाए पनि उनीहरूले सधैँ जनताको मतको दुरुपयोग मात्रै होइन, मूल्य–मान्यताहरूलाई समेत कुल्चिएको उनको आरोप छ ।

उनले भने, ‘संविधान र संघीयता लागू भए पनि अझै केही राजनीतिक कार्यभार बाँकी छन् । स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउने गरी शासकीय प्रणालीमा परिवर्तन गर्नु छ ।’ इलामेली नागरिकलाई जल, जंगल र जमिनको मालिक बनाउने यो अभियानमा साथ र सहयोगका लागि उनले अपिल गरेका छन् ।


उनले आफू पहिचानको पक्षमा भएको भन्दै कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने पनि बताए । पहिचानको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘सबै अस्तित्वहरूको सम्मान गर्दै पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गर्नु छ । यी राजनीतिक कार्यभार पूरा गर्नका लागि तपाईँ–हामी एकताबद्ध हुनैपर्छ ।’

माओवादी केन्द्र निकट प्रेस सेन्टरका केन्द्रीय सचिव मिलन लिम्बु आदिवासी जनजाति पत्रकार महासंघका (फोनिज) महासचिवका समेत हुन् । तर, उनले यसअघि नै माओवादी केन्द्रसँगको आबद्धता त्यागिसकेका छन् भने अब पत्रकारितामा पनि नरहने बताए ।

इलाम-२ बाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया