प्रताप सुब्बाको योगदानको स्मरण
अखबार टुडे
प्रकाशित:
२०८०, ४ चैत्र

काठमाडौं । बरिष्ठ चलचित्र निर्देशक प्रताप सुब्बाको प्रथम वार्षिक स्मृतिको अवसरमा ‘प्रताप सुब्बा स्मृति कोष’ स्थापना गरिएको छ । प्रताप सुब्बाको प्रथम स्मृतिमा शनिबार काठमाडौंको थापागाउँमा एक कार्यक्रमको आयोजना गरि निर्देशक विनोद सेरेङको संयोजत्वमा स्मृति कोष स्थापनाको घोषणा गरिएको हो ।

स्मृति कोषमार्फत प्रत्येक वर्ष एकजना मौलिक चलचित्र निर्देशकलाई सम्मान तथा पुरस्कृत गरिने निर्देशक सेरेङले जानकारी दिए । उनले भने, ‘प्रताप सुब्बा स्मृति कोषमार्फत प्रत्येक वर्ष एकजना मौलिक चलचित्र निर्माण गर्ने निर्देशकलाई पुरस्कृत गर्ने निर्णय गरेका छौँ । कोषका लागि चलचित्र निर्देशक समाजसँग पनि सहकार्यका लागि कुरा गर्ने छौं ।’

मौलिक चलचित्र निर्देशकका रुपमा स्थापित बरिष्ठ निर्देशक प्रताप सुब्बाको गत वर्ष चैत ३ गते निधन भएको थियो । प्रथम वार्षिक स्मृतिको अवसरमा प्रताप सुब्बाले चलचित्र क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिँदै स्मरण गरिएको थियो ।

निर्देशक सेरेङले प्रताप सुब्बाले नेपाली चलचित्र क्षेत्रमा गरेको संघर्ष, मिहिनेत र सिंगो उद्योगलाई पु¥याएको योगदानको स्मरण गर्दै भने, ‘प्रताप सुब्बा जस्ता निर्देशक अबका दिनमा नेपाली चलचित्र क्षेत्रले पाउन मुश्किल छ ।’ कार्यक्रममा प्रताप सुब्बासँग लामो समय काम गरेका कलाकार तथा उनका चेलाहरुको उपस्थिति थियो ।

कार्यक्रममा बरिष्ठ नृत्य निर्देशक कमल राई, बरिष्ठ क्यामेरामेन शिव ढकाल, अभिनेत्री विमला केसी, बरिष्ठ कलाकार रवि गिरी, सुमन आकाश, श्यामराजा श्रेष्ठलगायतको उपस्थिति थियो । गुरुप्रसाद मैनालीको कथामा आधारित ‘परालको आगो’मार्फत निर्देशकीय यात्रा सुरू गरेका निर्देशक प्रताप सुब्बाले ‘मसाल’ ‘बाँच्न चाहनेहरू’, ‘कही अँध्यारो कहीँ उज्यालो’लगायतका चलचित्रहरु निर्देशन गरेका थिए ।

प्रताप सुब्बाले ‘परालको आगो’, ‘दिदी’, ‘चटयाङ’, ‘भीष्म प्रतिज्ञा’लगायतका चलचित्र निर्देशन गरेर नेपाली चलचित्र क्षेत्रमा ख्याती कमाएका थिए । निर्देशक प्रताप सुब्बा राजनीतिक सिमानाभन्दा बाहिर रहेर नेपालीत्व जगाउने दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखक÷निर्देशक थिए । उनले डायमण्ड एक्टिङ इन्स्टिच्युट, सिने युनिभर्स खोलेर प्राविधिक जन्माएका छन् ।

प्रतिक्रिया