भारतमा लोकसभा निर्वाचन घोषणा : सात चरणमा यसरी हुनेछ मतदान
अखबार टुडे
प्रकाशित:
२०८०, ३ चैत्र

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । शनिबार त्यहाँको केन्द्रीय निर्वाचन आयोगले १८औं लोकसभा निर्वाचनको मिति घोषणा गरेको हो । भारतीय मिडियाले जनाएअनुसार यसपालिको लोकसभा निर्वाचन ७ चरणमा हुने भएको छ । पहिलो चरणमा २१ राज्यका १०२ सिटमा निर्वाचन हुनेछ ।

बिबिसीका अनुसार अरूणाञ्चल, असम, बिहार, छत्तिसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अन्डमान निकोबार, जम्मू कस्मिर, लक्षद्विप, पुद्दचेरीका विभिन्न १२० सिटमा मार्च १९ तारिखका दिन मतदान हुनेछ ।

यस्तै, दोस्रो चरणको निर्वाचन १३ राज्यका ८९ सिटमा निर्वाचन हुने आयोगले जनाएको छ । जसअनुसार असम, बिहार, छत्तिसगढ, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीरका कुल ८९ सिटमा अप्रिल २६ मा मतदान हुनेछ ।

अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार तेस्रो चरणको मतदान १२ राज्यका विभिन्न ९४ सिटमा हुनेछ । ती सिटहरूमा मे ७ तारिखका दिन मतदान हुने छ । त्यस्तै चौथो चरणमा, १० राज्यका विभिन्न ९६ सिटमा निर्वाचन हुनेछ । ती सिटहरूमा मे १३ तारिखका दिन मतदान हुने गरेको छ ।

पाँचौ चरणमा ८ राज्यका ४९ सिट, छैटौं चरणमा ७ राज्यका विभिन्न ५७ वटा सिट र सातौं चरणमा विभिन्न ८ राज्यका ५७ सिटका लागि निर्वाचन हुनेछ । पाचौं चरणको निर्वाचन अन्तर्गत मे २० मा, छैटौं चरणको मे २५ मा र सातौं चरणको १ जुनमा मतदान हुने बिबिसीले जनाएको छ ।

सबै चरणको मतदान सकिएपछि मात्रै मतगणना सुरू गरिने समाचरमा बताइएको । सातौं चरणको मतदान १ जुनमा सकिने हुँदा मतगणना ४ जुनबाट सुरू हुने भनिएको छ ।

भारतमा ९६.८ करोड मतदाता छन् । तीमध्ये ४७.१ करोड महिला र ४९.७ करोड पुरूष मतदाता रहेको बिबिसीले उल्लेख गरेको छ । ८५ वर्षमाथिका व्यक्तिहरूलाई घरबाटै मतदान गर्न मिल्ने व्यवस्था गरिएको समाचारमा जनाइएको छ ।

सन् २०१९ मा निर्वाचित लोकसभा सदस्यहरूको पदावधि आगामी जुन १६ देखि सकिँदैछ । यसपालिको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडिए र कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ ।

भारतमा २०१४ र २०१९ को लोकसभा चुनावमा लगातार भाजपाले जितेर लगातार दोस्रो कार्यकाल नरेन्द्र मोदी प्रधानमन्त्री छन् । संसदीय निर्वाचनसँगै चार प्रदेशमा विधानसभा निर्वाचन मिति पनि तोकिएको छ ।

जसमा ओडिशामा मे १३, मे २०, मे २५ र जुन १ तारिखका दिन विधानसभा निर्वाचनको मतदान हुनेछ । अरूणाञ्चल र सिक्किममा १९ अप्रिलमा एकै चरणमा तथा आन्ध्र प्रदेशमा १८ तारिखमा विधानसभा निर्वाचनको मतदान हुने त्यहाँको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया