
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित गरिएको छ । सुरुमा कांग्रेसको अवरोधले बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । तर, त्यसपछि बैठक बस्न सकेन । सभामुख देवराज घिमिरेले आजको बैठक स्थगन गरिएको जानकारी गराए ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जबाफ दिनुपर्ने अडान राखेको छ । बजेटसम्बन्धी छलफललाई अवरोध नगर्ने बताएको कांग्रेसले गृहमन्त्री लामिछानेलाई राजनीतिक दलसम्बन्धी ऐनको संशोधित विधेयक पेस गर्न नदिने पनि उल्लेख गरेको छ ।
गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा जोडिएकोले त्यसबारे प्रधानमन्त्रीबाट जबाफ आउनुपर्ने कांग्रेसको भनाइ छ ।
‘प्रधानमन्त्रीको जबाफ नआउँदासम्म उपप्रधान एवं गृहमन्त्रीजीको कार्यसूची राखिएको छ हामी त्यसमा प्रवेश गर्न सक्दैनौं र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई हामी अवरोध गर्दैनौं’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने । साथै कांग्रेसले अनुसन्धानको घेराभित्र परेको मन्त्री पदमा बसिराख्न नहुने बताएको छ ।
प्रमुख सचेतक लेखकले भने, ‘कुनै पनि मन्त्री अनुसन्धान दायराभित्र परेको छ र राज्य त्यस ढंगले अघि बढ्नुपर्ने स्थिति छ भने त्यस्तो मन्त्रीलाई आफ्नो पदमा बसिराख्ने हक हुँदैन भन्ने स्थापित भइसकेको छ । यो हिजो प्रतिपक्ष (एमालेलगायत)ले स्थापित गरेको हो, प्रधानमन्त्रीले त्यस्ता मन्त्रीलाई हटाएर आएको भन्नुभएको थियो ।’
