उदयपुरमा बलेरो दुर्घटना : ८ जनाको मृत्यु, नौ घाईते
अखबार टुडे
प्रकाशित:
२०८०, १ चैत्र

सुनसरी । उदयपुरमा बलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बिहीबार (आज) बिहान उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेरो दुर्घटना भएको थियो । दुर्घटनामा परी ७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ९ जना घाईते भएको प्रहरीले जनाएको छ ।

सुनसरीको धरानबाट भोजपुरको घोडेटारतर्फ हिँडेको को १ ज २५९३ नम्बरको बोलेरो बिहीबार बिहान ११ बजेतिर मैनामैनीस्थित सडकबाट करिब ४०० मिटर तल खसेको थियो । दुर्घटनामा ७ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा धरानको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार हतुवागढी गाउँपालिका–२ का ४० वर्षीय सवारी चालक मानबहादुर बस्नेत, गाडीमा सवार हतुवागढी गाउँपालिका–२ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, चन्द्रप्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका– ९ का ६८ वर्षीय पदमबहादुर थापा, हतुवागढी गाउँपालिका–५ की ३० वर्षीया रामकुमारी राई, र सुनसरीको इटहरीका ४५ वर्षीय कमल अधिकरीको घटनास्थलमा मृत्यु भएको थियो ।

हतुवागढी गाउँपालिका–५ का ४२ वर्षीय किसान राईको धरानको बिपी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका–५ का ३७ वर्षीय बिशेष पराजुली, आमचोक गाउँपालिका–६ भोजपुरकी २० वर्षीया मिनु राई, सोही स्थानकी ३६ वर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका–२ की ३२ वर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका–१ का १७ वर्षीय सुनिल परियार, सोही स्थानकी १७ वर्षीया सबिना परियार, ईटहरी– १७ सुनसरीकी ३४ वर्षीया गायित्री कट्वाल, उनकी ८ बर्षकी छोरी निकिता कट्वाल र ईटहरी–१७ की २९ वर्षीया रमा थापाको बिपी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया