‘सुनको सिक्री नदिएको’ भन्दै विवाह रद्द गर्ने बेहुलाविरुद्ध मुद्दा दायर
अखबार टुडे
प्रकाशित:
२०८०, २९ फाल्गुन

जनकपुरधाम । दुलही पक्षले सुनको सिक्री नदिएको भन्दै विवाह रद्द गरेका बेहुलासहित ५ जनाविरुद्ध मुद्दा दर्ता दायर भएको छ । बाराको कलैया उपमहानगरपालिका–४ का बेहुला उमेश साहसहित ५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मंगलबार मुद्दा दर्ता भएको हो ।

विवाहसम्बन्धी कसुरमा ५ जनाविरुद्ध बेहुली पक्षले मुद्दा दर्ता गराएको पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए । सामाजिक परम्पराअनुसार कलैयाका बच्चालाल साहका छोरा उमेश र वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी २४ वर्षीया छोरी रमिता कुमारीबीच विवाह तय भएको थियो ।

स्रोतका अनुसार बेहुला कर्मचारी भएकै कारण बेहुली पक्षले नगद १२ लाख र मोटरसाइकलबापत ३ लाख २५ हजार, एक थान ल्यापटप र अन्य गरगहना दाइजो दिन तयार भएको थियो ।

सोही अनुसार बेहुला फागुन २८ गते सोमबार राति जन्ती लिएर बाजागाजासहित बेहुलीको घर पुगेका थिए । स्वयंम्वर पनि भयो । तर, जन्तीको स्वागत र खानपान चल्दै गर्दा बेहुलाले सुनको सिक्री नदिएको भन्दै होहल्ला गरेका थिए । होहल्लापछि जन्ती र बेहुली पक्षबीच कुटाकुटसमेत भएको थियो ।

सोक्रममा बेहुलाले ‘अब बिहे गर्दिनँ’ भन्दै जन्ती लिएर घर फर्किन लाग्दा प्रहरी विवाह स्थलमा पुगेका थिए । र, विवाद साम्य पार्ने प्रयास प्रहरीले गरेका थिए । तर, बेहुलाले असामान्य हर्कत गरेपछि उनीसहित ६ जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

बेहुली पक्षले मुद्दा दर्ता गराएपछि बेहुलासहितलाई कानूनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया