राष्ट्रियसभा बैठकमा सांसद सुनारले के बोलेका थिए, जुन अभिलेखबाट हटाइयो
अखबार टुडे
प्रकाशित:
२०८०, २७ फाल्गुन

काठमाडौं । राष्ट्रियसभा नियमावलीमाथिको छलफलमा नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले प्रयोग गरेको शब्द संसदीय अखिलेखबाट हटाइएको छ ।

यही १८ फागुनमा राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा नियमावली २०८० माथिको छलफलमा सांसद सुनारले आफूले दलितसम्बन्धी छुट्टै समिति बनाउने प्रस्ताव गरेको तर, अस्वीकृत भएको भन्दै असन्तुष्टि पोखेका थिए । महिला समन्वय समिति रहँदा दलित सम्बन्धी समिति किन नरहने भन्ने उनको प्रश्न थियो ।

दलितको विषयमा छलफल गर्न संसदीय विषयगत समितिको नाम नियमावलीमै राख्न खोज्दासमेत अस्वीकार भएको भन्दै उनले यस्तो कार्यमा कम्युनिस्ट पार्टीका नेताहरु नै लागेको भनी असन्तुष्टि जनाएका थिए ।

नियमावलीमाथिको छलफलमा समेत आफूले भाग लिन नपाएको गुनासो गर्दै उनले सभामै नियमावलीमाथि संशोधन प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव फिर्ता लिने कि नलिने भन्ने क्रममा उनले प्रयोग गरेको वाक्यांश संसदीय रेकर्डबाट हटाइएको हो ।

सांसद सुनारले भनेका थिए, ‘यसको विषयमा मैले भनिरहनुपरेन । स्यालको छाला ओढेको ब्वाँसो भन्ने कि के भने जस्तै कम्युनिस्टका नाम बोकेका मान्छेहरुको चरित्र उदांगो भयो ।’ त्यतिखेरै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले ‘माननीय सदस्य शब्दहरुलाई अलि ख्याल गरिदिनुपर्ला’ भन्दै सम्झाएका थिए ।

सांसद सुनारले बोलेको अभिव्यक्तिलाई नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहराले अमर्यादित शब्द प्रयोग भएको भन्दै संसदीय अभिलेखबाट हटाउन माग गरेका थिए । त्यसपछि तिमिल्सनाले अर्को बैठकमा निर्णय सुनाउने बताएका थिए ।

त्यसपछि आइतबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता उपाध्यक्ष उर्मिला अर्यालले गरेकी थिइन् । उनले १८ फागुनको बैठकमा सुनारले बोलेको शब्दहरुप्रति भएको नियमापत्तिअनुसार संसदीय अभिलेखमा नरहने गरी हटाउन निर्देशन दिएकी हुन् ।

प्रतिक्रिया