
पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी केन्द्र गण्डकी संसदीय दलको बुधबार बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । गण्डकीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा छ ।
कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबार नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई हटाएका थिए । मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका हुन् ।
यस्तै, आजै सुदूरपश्चिम प्रदेश सरकारबाट माओवादीले समर्थन फिर्ता लिएको छ । आज बिहान संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी संसदीय दलका नेता मनबहादुर धामीले बताए ।
सुदूरमा पनि मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेका थिए । त्यसको भोलिपल्ट सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादीले निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले एमालेसहित नयाँ गठबन्धनमा केन्द्रीय मन्त्रिपरिषद गठन गरेपछि मुख्यमन्त्री शाहले माओवादीबाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका रमेश धामी र राज्य मन्त्री गीता माललाई हटाएका थिए । तर, सुदूरमा माओवादीले समर्थन फिर्ता लिएपनि सरकारको बहुमत छ ।
