७औँ राष्ट्रिय रनिङशिल्ड दोहोरी गीत प्रतियोगितामा दिलिप र बिमा भए प्रथम
अखबार टुडे
प्रकाशित:
२०८०, १० फाल्गुन

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा धादिङको चरौंदीमा भएको ‘ईन्द्रेणी ७औं राष्ट्रिय रनिङशिल्ड दोहोरी गीत प्रतियोगिता–२०८०’मा दिलिप थापा मगर र विमा अनुरागी प्रथम भएका छन् ।

प्रतिष्ठानको उपत्यका समन्वय समितिअन्तर्गतको बानेश्वर–कोटेश्वर समितिको तर्फबाट प्रतियोगितामा भाग लिएका दिलिप थापा मगर र विमा अनुरागीले उपविजेता कोरिया शाखालाई हराउँदै विजयी बनेका हुन् ।

प्रथम भएका समूहले तीन लाख नगदराशिसहित शिल्ड सहितको पुरस्कार प्राप्त गर्न सफल भएका थिए । द्वितीय स्थान हासिल गरेको कोरिया शाखाको तर्फबाट प्रतिस्पर्धी तारा थापा र टेकराज भण्डारीले दुई लाख नगद राशिसहित पुरस्कार चुम्न सफल भएका थिए ।

त्यसैगरी जापान शाखाले तृतीय पुरस्कार प्राप्त गर्न सफल भएको थियो भने अनामनगर समितिले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भयो । जापान शाखाको तर्फबाट प्रतिस्पर्धी निशान विश्वकर्मा र सपना रोकाले १ लाख नगद राशिको पुरस्कार चुम्न सफल भए भने अनामनगर समितिको तर्फबाट प्रतिस्पर्धी विजय बानियाँ र सबिता परियारले ५० हजार नगदसहित सान्त्वना पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा सहभागी ४८ समुहमध्ये जुम्ला शाखाको तर्फबाट सहभागी गीता सेजुवाल उत्कृष्ट नव गायिका बन्न सफल भइन् भने पाल्पा शाखाको तर्फबाट सहभागी रबिन नेपाली उत्कृष्ट नव गायकको पुरस्कार चुम्न सफल भए ।

त्यसैगरी बसपार्क समिती रातोको तर्फबाट प्रतिस्पर्धी जमुना बिक उत्कृष्ट प्रतिभावान गायिका बन्न सफल भइन् । त्यस्तै बसपार्क समिती सेतोको तर्फबाट सहभागी रत्न श्रेष्ठ र बागमती प्रदेशबाट सहभागी आशा केसीले उत्कृष्ट भेषभुषाको पुरस्कार चुम्न सफल भए ।

लुम्बिनीको तर्फबाट सहभागी लक्ष्मी बस्नेत उत्कृष्ट सृजनशिल गायिका बन्न सफल भइन् भने उपत्यका समन्वय समितीको तर्फबाट सहभागी शर्मिला श्रेष्ठ र काठमाडौं जिल्लाका अनिल सुनार उत्कृष्ट अनुशासित गायिका र गायकको पुरस्कार चुम्न सफल भए । यी सबै पुरस्कारको राशि १५ हजार नगदराशि रहेको थियो ।

त्यस्तै बागलुङ जिल्लाशाखाको तर्फबाट सहभागी सुमन खड्का र सुन्धारा समितीको तर्फबाट सहभागी तिर्सना बुढा क्षेत्री उत्कृष्ट गायक गायिकाको पुरस्कार चुम्न सफल भए । उनीहरुले २५ हजार नगदराशि सहितको पुरस्कार प्राप्त गरेका थिए ।

धादिङ जिल्लाको रोराङ–बेनीघाट गाउँपालिका वडा नं. ७ स्थित चरौंदीको मैदानमा आयोजित ‘ईन्द्रेणी ७औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता–२०८०’ फागुन ५ मा प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन भएको उक्त कार्यक्रम नेपाल सरकारका नागरिक उड्यन, पर्यटन तथा संस्कृती मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

समापन कार्यक्रममा बेनीघाट गाउपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया, प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, प्रतिष्ठानका पुर्व अध्यक्षहरु प्रजापती पराजुली, दुर्गा रायमाझी, चन्द्र शर्मा, बद्री पंगेनी आदिको बिशेष आतिथ्यता रहेको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा भएको ‘ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता–२०८०’को समापन कार्यक्रममा प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष पशुपती शर्माले स्वागत मन्तब्य राखेका थिए ।

प्रतियोगीताको संयोजक प्रशासनिक उपाध्यक्ष दिपक खड्का, कार्यक्रम संयोजक प्रशासनिक सचिव जीवन दाहाल रहेका थिए भने केन्द्रिय सहकोषाध्यक्ष ईश्वरी प्रसाद भुसालले बाद्यवादन संयोजकका भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा लोकदोहोरीको रौनकतामा रमाउने दर्शकहरुको बाक्लो घुइँचो नै लागेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव शिब हमालले गरेका थिए भने दोहोरी प्रतियोगिताको कार्यक्रम सञ्चालन पुर्व अध्यक्ष प्रजापती पराजुली र कार्यक्रमका सहसंयोजक भरत बराकोटीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि माननीय सुदन किराँती, बेनीघाट गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया लगायत विविन्न क्षेत्रबाट सहयोग गर्ने एवं कार्यक्रम सम्पन्न बनाउने दाताहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया