नेपालीले भारतीय सिमकार्ड लिन के गर्नुपर्छ ?
अखबार टुडे
प्रकाशित:
२०८०, ८ फाल्गुन

काठमाडौं । अब भारतीय सिमकार्ड लिन नेपाली नागरिकले पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जालमार्फत नेपालीहरुले पनि भारतीय सीमकार्ड पाउने जानकारी दिएका हुन् ।

नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने उनले एक्समार्फत जानकारी दिएका छन् ।

संसारका जुनसुकै मुलुकमा जाँदा पनि विमानस्थलमा वा प्रवेश विन्दुसँगसँगै विदेशी नागरिकहरुले सम्बन्धित देशका टेलिकम कम्पनीको सिमकार्ड किन्न पाउने व्यवस्था गरिएको हुन्छ । तर, नेपाली नागरिकहरुले भारतमा भने सिमकार्ड पाउँदैनथे । भारत पुगेका नेपालीहरुले भारतीय नागरिककै सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो । भारतमा चिनाजानी केही नहुने भ्रमणकर्ता वा काममा जाने नेपालीहरुले भने त्यहाँ सिमकार्ड लिन नपाउँदा ठूलो सास्ती बेहोर्नुपरेको छ ।

यो समस्या समाधानका लागि भारतस्थित नेपाली राजदूत डा। शर्माले पहल गरेका थिए । ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो । हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ,’ डा. शर्माले एक्समा लेखेका छन् ।

प्रतिक्रिया